
काठमाडौं – काठमाडौं महानगर पालिकाका मेयर बालेन शाहले तयार पारेको चलचित्र ‘लाज शरणम्’को गीत ‘नेपाल हाँसेको’ सुरुमै हिट साबित भएको छ । सोमबार साँझ सार्वजनिक भएको यो गीत यो समाचार तयार पार्दासम्म करिब सात लाख भ्युजसहित नेपालको लागि युट्युबको सङ्गीत सेक्सनमा ट्रेन्डिङको दोस्रो स्थानमा पुगेको छ ।
गीत रिलिज भएको केही घण्टामै ट्रेन्डिङमा प्रवेश गरेको थियो । यस गीतमा बालेनको शब्द, सङ्गीत, स्वर र र्याप छ रहेको । कोरसमा सारा खड्गी, मानुषी पौडेल, कृषा खड्कालगायतको स्वर छ ।
मेयर हुनु अगाडि बालेनको पहिचान हिप-हप गायक र इन्जिनियर थियो । उनी मेयर भएपछि यो पहिलो गीत हो भने चलचित्र गायनमा पनि पहिलो गीत हो । यो गीत चलचित्र प्रचारको उद्देश्यले तयार पारिएको हो । यस चलचित्रको टिमसँग बालेनको सुमधुर सम्बन्ध रहेको छ ।
चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो, जसलाई कुमार कट्टेल ‘जिग्री ब्रि’ले निर्देशन गरेका हुन् । मुख्य भूमिकामा सिताराम कट्टेल ‘धुर्मुस’ मुख्य भूमिकामा छन् । धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिस निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । यो चलचित्र फागुन १४ गते महाशिवरात्रिको दिन रिलिज हुनेछ ।