काठमाडौं – एडल्ट कथामा बनेको नेपाली चलचित्र ‘दुखी आत्मा’ टिजर सार्वजनिक भएदेखि नै चर्चामा थियो । हालै यो चलचित्रले चलचित्र जाँच पास समितिबाट ‘पिजी’ प्रमाणपत्र पाएको छ । यसको अर्थ अब यो फिल्म १६ वर्षभन्दा मुनिका बालबालिकाले अभिभावकको साथमा हेर्न पाउनेछन् ।
यही शुक्रवार रिलिज हुने चलचित्रको टिजर र ट्रेलर सार्वजनिक भएपछि धेरैले सेन्सरले दृश्यहरू काट्छ कि भन्ने अनुमान गरेका थिए । तर, निर्देशक दीपेन्द्र लामाले जानकारी दिए अनुसार, सेन्सरले कुनै पनि दृश्यमा कैँची चलाएन । बरु, सेन्सर सदस्यहरूले यसको कथा र प्रस्तुतिको खुलेर प्रशंसा गरे ।

निर्देशक लामाले दर्शकहरूलाई ढुक्क हुन आग्रह गर्दै भनेका छन्, “हाम्रो चलचित्रको कथा एकदमै नयाँ छ । यो पारिवारिक फिल्म हो, त्यसैले सबै वर्गका दर्शकले फिल्म हेर्न सक्नुहुन्छ ।” उनले बजारमा चलचित्रका बारेमा फैलिएका अड्कलबाजीहरूलाई पनि निराधार बताए ।
यस चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, र बुद्धि तामाङ जस्ता कलाकारहरूको अभिनय रहेको छ । हिमाल कडरिया निर्माता र सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो चलचित्रमा आलोक शुक्लाको छायाङ्कन छ ।