
काठमाडौं – एक्टिङ रियालिटी शो ‘एक्टिङ स्टार’को प्रि-जज अडिसन हालै सम्पन्न भएको छ । एक हजारभन्दा बढी इच्छुक कलाकारहरूले डिजिटल अडिसनमार्फत आफ्नो अभिनयको नमुना पठाएपछि २२२ जनालाई प्रि-जज अडिसनको लागि छनोट गरिएको बताइएको छ ।
आयोजक महक मिडिया नेटवर्कका अनुसार, अडिसनमा सहभागीहरूले आफ्नो अभिनय कला प्रस्तुत गर्ने अवसर पाएका थिए । अडिसनमा नेपालका विभिन्न स्थानका साथै भारतको सिक्किम, दार्जिलिङ, वेस्ट बङ्गाल, मुम्बई र दुबईबाट समेत सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
गायन र नृत्यका रियालिटी शोहरु मात्र भइरहेको अवस्थामा ‘एक्टिङ स्टार’को आगमनले अभिनयमा रुचि राख्ने सबै उमेर समूहका व्यक्तिहरूलाई उत्साहित देखिएका छन् । सहभागीहरूमा नयाँ प्रतिभादेखि लिएर अनुभवी कलाकारहरू समेत रहेका छन् ।
छिट्टै नै अर्को चरणमा प्रवेश गर्ने प्रतियोगीहरूको नाम सार्वजनिक गरिने र फिजिकल अडिसनको घोषणा गरिने आयोजकले जानकारी दिएको छ । ‘एक्टिङ स्टार’को निर्णायक मण्डलमा वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाह, चर्चित कलाकार तथा निर्देशक अनुप बराल र अभिनेत्री ऋचा शर्मा रहेका छन् ।
विशाल भण्डारीको निर्देशनमा तयार हुने यो शो एपिवान टिभीबाट प्रसारण हुनेछ । ओएसआर डिजिटलले ‘एक्टिङ स्टार’को डिजिटल अधिकार खरिद गरेको छ । विजेताले नगद पुरस्कारसहित फिचर फिल्ममा काम गर्ने अवसर पाउनेछन् ।