
काठमाडौं – कलाकार जितु नेपाल चर्चित कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित चलचित्रमा प्रमुख भूमिकामा अभिनय गर्ने भएका छन् । निर्माण कम्पनी हरिओम सिने मेकर्सका अनुसार जितु चलचित्रको दुई प्रमुख पात्रमध्ये एक हुन् । अर्को प्रमुख पात्र को हुने भन्ने अहिले गोप्य राखिएको छ । तर निर्माण पक्षले चाँडै नै अर्को कलाकारको पनि टुङ्गो लाग्ने बताएको छ ।
‘परालको आगो’ मैनालीको कथा सङ्ग्रह ‘नासो’ मा सङ्गृहीत छ । यो कथामा चामे, गौँथली र जुठे दमाईको वरिपरि घुम्ने कथालाई प्रस्तुत गरिएको छ । जितु नेपालले कुन पात्रको भूमिका निर्वाह गर्नेछन् भन्ने कुरा लुकाइएको छ । यसअघि यस चलचित्रमा अभिनेत्री सुहाना थापा गौँथलीको भूमिकाको लागि अनुबन्ध भएकी थिइन् ।
लक्ष्मण सुनारले यो चलचित्रलाई निर्देशन गर्नेछन् भने सुशील पोखरेलले निर्माण गर्नेछन् । पोखरेलले यसअघि ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शङ्कर’, ‘लव सव’, ‘राधे’ र ‘यात्रा’ जस्ता सफल चलचित्रहरू निर्माण गरिसकेका छन् । निर्देशक सुनारले यसअघि ‘बुलाकी’ चलचित्र निर्देशन गरेका थिए ।