
काठमाडौं – शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘दुखी आत्मा’को बुकिङ खुल्ला गरिएको छ । राजधानीका मल्टिप्लेक्सदेखि मोफसलका हलहरूमा समेत बुकिङ खुल्ला गरिएको हो ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । क्युएफएक्स चेनले काठमाडौँ उपत्यकाका हलमा २४ शोज दिएको छ । यस्तै, बिग मुभिजले ३ शोज, वान सिनेमाज् नयाँ बानेश्वरमा ५ शोज, कालिमाटीमा ४ शोज, एफक्यूब सिनेमाज्मा ५ शोज, आइएनआई नयाँ बानेश्वरमा ४ शोज पाएको छ । काठमाडौँ बाहिर पनि राम्रो शो पाएको छ ।
यसको टिजर, ब्रेकअप कविता र ट्रेलरले दर्शकको मन जितिसकेको छ । सामाजिक कथामा नयाँ–नयाँ विषयवस्तु प्रस्तुत गर्न सिपालु निर्देशक लामाको यो चलचित्रले यौन समस्याका कारण एक पुरुषले भोग्ने विभिन्न तनावको कथालाई प्रस्तुत गरेको छ । हिमाल कडरियाको निर्माणमा सुदिप ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।