
काठमाडौं – गत मङ्सिरदेखि नेपाली चलचित्रको व्यापारमा मन्दी छाएको छ । प्रदर्शनमा आएका थुप्रै चलचित्रले अपेक्षाकृत व्यापार गर्न सकेका छैनन् । फागुनको सुरुवात दुई नयाँ चलचित्रहरू ‘रङ्गी’ र ‘दुःखी आत्मा’बाट भएको छ । यी दुई चलचित्रले बजारलाई चलायमान बनाउने आशा गरिएको छ ।
दुवै चलचित्रको विषयवस्तु फरक छ । ‘रङ्गी’ले बाबु-छोरीको भावनात्मक सम्बन्धको कथा प्रस्तुत गर्दछ । एकल बाबुले आफ्नो सन्तानलाई हुर्काउन गरेको सङ्घर्ष र मिहिनेतलाई चलचित्रले उजागर गर्दछ । यसमा अभिनेता सलोन बस्नेतले बाबुको भूमिका र बाल कलाकार आयुषी ढकालले छोरीको भूमिका निर्वाह गरेका छन् । ‘रङ्गी’ सलोन आफैँले निर्माण गरेका हुन् भने यसका निर्देशक सुरेश न्यौपाने हुन् ।
त्यस्तै, दीपेन्द्र लामाद्वारा निर्देशित ‘दुःखी आत्मा’ले यौन दुर्बलताको विषयलाई उठाएको छ । यसको कथा सम्भोगको क्रममा लिङ्गमा उत्तेजना नहुने समस्याबाट पीडित एक व्यक्तिको वरिपरि घुम्छ । अभिनेता दयाहाङ राईले यो भूमिकालाई जीवन्त बनाएका छन् भने अभिनेत्री आँचल शर्मा उनको जोडीको रूपमा देखिएकी छिन् । सम्भवतः नेपाली चलचित्रको इतिहासमा पहिलोपल्ट यौन दुर्बलताको विषयलाई उठान गरिएको छ ।