चलचित्र ‘दुखी आत्मा’ प्रिमियर: फरक कथावस्तु र उत्कृष्ट प्रतिक्रिया



काठमाडौं – आजबाट रिलिज भएको नेपाली चलचित्र ‘दुखी आत्मा’ले प्रिमियरमा फरक प्रतिक्रिया प्राप्त गरेको छ । रिलिजको पूर्व सन्ध्यामा बिहीबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा फिल्मको कथावस्तुलाई लिएर धेरैले गज्जबको प्रतिक्रिया दिए । युवापुस्ताका दर्शकलाई यो चलचित्रले हलसम्म तान्ने अधिकांशको भनाई थियो ।

चलचित्रले ‘इडी’ रोग लागेका व्यक्तिहरूको कथालाई प्रस्तुत गर्छ । फिल्म हेर्नका लागि निर्देशक नवीन सुब्बा, ज्ञानेन्द्र देउजा, सुयोग गुरुङ, दीपाश्री निरौला, कलाकार उषा रजक, कथा वाचक साइग्रेस पोखरेल, मोडल उषा उप्रेती लगायत हल पुगेका थिए । चलचित्रले उठान गरेको विषयवस्तु भन्न सकेकोमा अधिकांशले निर्देशक लामालाई बधाई दिए ।

यसको ट्रेलर र टिजर सार्वजनिक भएपछि धेरैले यसलाई एडल्ट कथावस्तुमा बनेको फिल्म भनेर बुझेका थिए । तर, चलचित्र हेरेपछि अधिकांशले यसको कथावस्तु, प्रस्तुति, संवाद, कलाकारहरूको अभिनयको तारिफ गरे । यो चलचित्र सबै दर्शकले हेर्नुपर्ने तर्क उनीहरूको थियो । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको प्रिमियरमा फिल्मकर्मी, विभिन्न क्षेत्रका व्यक्तिहरू तथा पत्रकारहरूको बाक्लो उपस्थिति थियो ।

क्लकवर्क क्रियशनको ब्यानरमा हिमाल कडरियाको निर्माण तथा सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, रेअर राई लगायतका कलाकारहरूको अभिनय छ ।

चलचित्रले प्रेमको भाषालाई कविताको माध्यमबाट प्रस्तुत गरेको छ । साथै, समाजमा पुरुषहरूले लुकाएर राखेको आफ्नो यौन समस्यालाई खुलेर भन्न सकेको खण्डमा उपचार सम्भव रहेको तर्क पनि चलचित्रले प्रस्तुत गर्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu