
काठमाडौं – गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीले निर्देशन गर्ने चलचित्र ‘मन बिनाको धन’को शुभ मुहूर्त सम्पन्न भएको छ। कोटेश्वर महादेव मन्दिरमा शुक्रवार पूजाआजा गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो ।
शुभ मुहूर्त कार्यक्रममा कलाकार सरोज खनाल, सन्तोष पन्त, बाल गायक अशोक दर्जी, निता ढुङ्गाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, शङ्कर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियङ्का झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डङ्गोल लगायतको उपस्थिति थियो । चलचित्रको छायाङ्कन आजबाटै सुरु भएको छ ।
गायक अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’बाट प्रभावित भएर बुढाथोकीले सोही नाममा चलचित्र बनाउन लागेका हुन् । चलचित्रको कथा पनि उनले आफैँ लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन् ।
सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रलाई बैंकटेश इन्टरटेन्टमेन्टले वितरण गर्ने जिम्मा लिएको छ । चलचित्रको निर्माता विष्णु माया मैनाली र सह निर्माता जीपी सङ्ग्रौला, लक्ष्मी गिरि, विवेक नेपाल विजया पाण्डे हुन् भने मिनु शर्मा (सपना) कार्यकारी निर्मातामा रहेका छन् ।
चलचित्रमा टङ्क बुढाथोकीको सङ्गीत, सौरभ लामाको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी, मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहने छ । चलचित्रमा अरुण रेग्मी र अर्जुन पोखरेल प्रोडक्सन म्यानेजर रहेका छन् ।