
काठमाडौं – आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक १ मिनेट ३४ सेकेण्ड लामो टिजरले चलचित्रको कथावस्तुको झलक दिएको छ । प्रेम, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण टिजर उत्साहपूर्ण छ ।
निर्माण टिमले टिजरको सुरुवातमा नै एउटा चेतावनीमूलक सूचना राखेको छ, जसमा लेखिएको छ, ‘यो टिजर पूर्वावलोकन मात्र ती दर्शकहरूका लागि स्वीकृत गरिएको छ, जसलाई चलचित्रमा रोमाञ्चकता र रहस्य मन पर्छ ।’ यसले सिनेमाको थ्रिलर विधालाई थप जोड दिएको छ ।
कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र नवअभिनेता सागर खनालको दमदार अभिनय टिजरमा छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । पाण्डेको यो पहिलो चलचित्र हो । निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले स्क्रिप्ट लेखेका हुन् ।
अल्मोडा राना उप्रेतीको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन तथा मिक्सिङ, प्रद्युम्न मिश्रको डिओपी, रामशरण उप्रेतीको छायाङ्कन, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले चलचित्रमा प्रोडक्सन डिजाइनरको रूपमा रहेका छन् ।
विचित्र फिल्मस् र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । कार्यकारी निर्माता एमएस अग्रज हुन् ।
टिजर: