
काठमाडौं – नयाँ पुस्ताका दर्शकमाझ प्रतीक्षाको सूचीमा रहेको नेपाली चलचित्र ‘ताण्डवम्’ आउँदो शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । जुनिम गहतराजको डेब्यु निर्देशन रहेको यो चलचित्रले एउटा नव विवाहित जोडीको जीवनमा आउने अप्रत्याशित घटनाको कथालाई पर्दामा उतारेको छ । पारिवारिक एक्सन थ्रिलर जनरामा बनेको चलचित्रले दर्शकलाई फरक स्वाद दिने अपेक्षा गरिएको छ ।
चलचित्रका अभिनेता अंकित खड्काले ‘ताण्डवम्’ एउटा उत्कृष्ट चलचित्र बनेको बताए । उनले चलचित्रको कथावस्तु र आफ्नो चरित्र मन परेरै काम गरेको बताए । “मैले ‘ताण्डवम्’को कथावस्तु र आफ्नो चरित्र ‘घैँटे’ मन पराएर काम गरेको हुँ । यो चलचित्र सबैलाई मन पर्ने बनेको छ । घैँटेले आफ्नो जीवनमा आमाको मायाको कमी भोगेको हुन्छ । जसका कारण उसको सोच र व्यवहार अरूभन्दा फरक छ । आमाको माया नपाएको मान्छे कस्तो हुन्छ ? उसको व्यवहार कस्तो हुन्छ ? भन्ने कुरालाई चलचित्रमा देखाउन खोजिएको छ,” अंकितले भने ।
आमा शब्दलाई गाली गर्नुपर्ने चरित्र भएकाले यो भूमिका निर्वाह गर्न आफूलाई निकै कठिन भएको अनुभव उनले सुनाए । सुटिङकै क्रममा आफ्नी आमाको निधन भएकाले पनि यो चरित्रमा डुब्न निकै सङ्घर्ष गर्नुपरेको उनको भनाइ छ । “यो चरित्र निभाउन मलाई एकदमै गाह्रो भयो । सुटिङकै बेला मेरो आमा पनि बित्नुभयो । आमालाई गाली गर्नुपर्ने भूमिका थियो । आमा शब्दलाई कसरी गाली गर्ने भन्ने कुराले मलाई निकै पिरोल्यो । आमा भन्ने शब्द त एउटा पृथ्वी हो, पृथ्वीलाई कसरी गाली गर्ने ? तर मेरो चरित्र नै त्यस्तो भएकाले मैले यो भूमिका निभाउनुपर्यो,” उनले भने ।
कलाकारको लागि सबै चरित्र समान हुने भएकाले आफूले कुनै पनि चरित्रलाई अस्वीकार गर्न नहुने उनको बुझाइ छ । “कलाकारको धर्म भनेको सबै चरित्रमा काम गर्नु हो । म यो चरित्र गर्छु, त्यो गर्दिनँ भन्नु हुँदैन,” अंकितले भने । ‘ताण्डवम्’मा काम गर्ने सबै नयाँ टिम भएकाले पनि यो चलचित्र विशेष बनेको उनको भनाइ छ । नयाँ टिमसँग काम गर्दा नयाँ कुरा सिक्न पाइने र नयाँ अनुभव बटुल्न पाइने भएकाले यो आफ्नो लागि एकदमै राम्रो अवसर भएको उनले बताए ।
“प्रत्येक चलचित्रमा केही न केही नयाँ कुरा हुन्छ । ‘ताण्डवम्’मा पनि दर्शकले याद गर्ने धेरै कुरा छन् । नयाँ टिमसँग काम गर्दा धेरै कुरा सिक्न पाइयो । निर्देशक नयाँ हुनुहुन्छ, अरू कलाकार पनि नयाँ नै छन् । नयाँ जोस र जाँगरका साथ चलचित्र बनेको छ । यो चलचित्र लभ स्टोरी, एक्सन थ्रिलर हो । साथीको कथा र माया प्रेम पनि छ,” उनले भने, “स्थानीय ठाउँको, मध्यम वर्गीय परिवारको कथालाई चलचित्रले उठाएको छ ।”