‘लाज शरणम्’ले फर्काउला सुस्ताएको चलचित्र बजार?



काठमाडौं – पछिल्लो समय नेपालका चलचित्र हलहरूमा दर्शकको सङ्ख्या घटिरहेको देखिन थालेको छ । यस्तो अवस्थामा रिलिजको लागि तयारी अवस्थामा रहेका चलचित्रका निर्माताहरूमा एक प्रकारको डर पैदा भइरहेको देखिएको छ । अपेक्षित चलचित्रहरूले दर्शक नपाउँदा यस्तो डर पैदा हुनु स्वाभाविक हो ।

पछिल्लो समय प्रचारात्मक सामग्री रिलिज गरेका फागुन महिनामा रिलिज हुने चलचित्रहरू ‘लाज शरणम्’, ‘फेरी रेशम फिलिली’, ‘मायावी’, ‘होस्टेल ३’, ‘अञ्जिला’ लगायतले दर्शकहरूको चासो पाएको देखिएको छ । यो समाचारमा हामी फरक स्वादमा रिलिज हुने लागेको ‘लाज शरणम्’को बारेमा चर्चा गर्दछौँ, जुन चलचित्र यही फागुन १४ गते महाशिवरात्रिको मौका छोपी रिलिज हुँदैछ ।

यस चलचित्रमा दर्शकको चासो बढ्नुमा चलचित्रको प्रचारमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत, चलचित्रको टिजर रहेका छन् । टिजरपछि यसको ट्रेलरको पनि व्यग्र अपेक्षा छ । यसमा सिताराम कट्टेल ‘धुर्मुस’, विजय बराल, अर्जुन घिमिरे ‘पाँडे’, हरिस निरौला ‘बले’, सागर लम्साल ‘बले’ जस्ता कलाकारको उपस्थितिले दर्शकलाई हलसम्म तान्न सक्छ । 

‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको कारण पनि आम नेपालीहरूमाझ यसको थप चर्चा छ । लेखक, कलाकारदेखि निर्देशक समेत ‘सक्किगोनि’कै टिमका छन् । लामो समयपछि ‘धुर्मुस’ अर्थात् सिताराम कट्टेललाई मुख्य भूमिकामा यो चलचित्रमा देख्न पाइनेछ भने ‘जिग्री ब्रो’ अर्थात् कुमार कट्टेलको निर्देशन पनि चासोपूर्ण छ ।

यसमा धुर्मुस, विजय, अर्जुन, सागर, हरिसका साथै प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ र माला लिम्बुको पनि अभिनय छ । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सृजना खड्का सह-निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu