
काठमाडौं – अमेरिकाको भिसा लागेको रेशम र उसको भिसासँग जोडिएका विभिन्न पात्रहरूको सपना, चाहना र स्वार्थको द्वन्द्वको वरिपरि घुमेको चलचित्र ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको ३ मिनेट ७ सेकेन्डको ट्रेलरले चलचित्र हास्य रसले भरिपूर्ण रहेको देखाएको छ ।
ट्रेलरले दर्शकलाई कमेडीको पूर्ण मनोरञ्जन दिने अनुमान गर्न सकिन्छ । झन्डै १० वर्षअघि रिलिज भएको चलचित्रको यो नयाँ सिक्वेलले उस्तै कमेडीको तड्का दिने देखिन्छ । चलचित्रले त्यति बेला हरिया पात्रलाई लोकप्रिय बनाएझैँ यस पटक मेक्सम गौडेलको हाजमोला चरित्र दर्शकका लागि ताजा अनुभव हुने अनुमान लगाउन सकिन्छ ।
हरियाको रेशमलाई समस्यामा पारिरहने पुरानो शैलीले यस पटक पनि दर्शकलाई पेट मिचिमिची हँसाउने सम्भावना ट्रेलरले दिएको छ । समग्रमा ट्रेलरले हलसम्म दर्शकलाई सजिलै आकर्षित गर्ने देखाएको छ । झन्डै ३ दर्जनभन्दा बढी पात्रको सेरोफेरोमा घुम्ने चलचित्रको परिस्थितिजन्य कमेडी दर्शकका लागि रुचिकर हुने ट्रेलरले देखाएको छ ।
चलचित्रमा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतीको छायाङ्कन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको सङ्गीत र सुरेन्द्र पौडेलको सम्पादन चलचित्रमा रहेको छ ।
चलचित्र आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रमा रौनक विक्रम कँडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।
चलचित्रलाई निरोज महर्जनले निर्देशन गरेका हुन् । चलचित्रको कथा पनि उनले नै लेखेका हुन् । चलचित्रको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन् । यो चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।
ट्रेलर: