
काठमाडौं – पाटन उच्च अदालतले चलचित्र ‘लाज शरणम’को सेन्सर पास हुनु अगाडि प्रचारप्रसार रोक्न अन्तरिम आदेश जारी गरेको छ । पूर्व मन्त्री मोहम्मद अफताव आलमले आफ्नो अनुमति बिना आफ्नो अनुहारसँग मिल्दोजुल्दो मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज प्रयोग गरेको भन्दै रिट दायर गरेका थिए ।
न्यायाधीधद्वय लालबहादुर कुँवर र हेमन्त रावलको संयुक्त इजलासले आलमको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । आलमले चलचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।
अदालतको आदेशमा भनिएको छ, ‘निवेदकको संविधान कानुन प्रदत्त हक अधिकारमा आघात परेको अवस्था भए अनुमति दिने क्रममा सपठीत ऐनको दफा ८ (३) बमोजिम केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई रोक्न सक्ने नै देखिँदा सो अगावै निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरी पात्रले अभिनय गरेको प्रस्तावित लाज शरणम नामक चलचित्रको विज्ञापन सामाजिक सञ्जाल तथा अन्य सार्वजनिक सञ्चारमाध्यममा प्रचारप्रसार र सो सम्बन्धी पोस्टहरू प्रकाशन, प्रसारण नगर्नु नगराउनु भनी विपक्षीहरूको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (३) बमोजिम अन्तरिम आदेश जारी गरी दिएको छ । प्रस्तुत आदेशको जानकारी विपक्षीहरूलाई दिनू ।’
जेपीटी क्रिएसनले निर्माण गरेको चलचित्र ‘लाज शरणम’ फागुन १४ गते शिवरात्रिमा प्रदर्शनको तयारीमा थियो । यस चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’ले आलमको हाउभाउ मिल्ने भूमिकामा अभिनय गरेका छन्, जसको पोस्टर तथा टिजर सार्वजनिक भइसकेको छ ।