
काठमाडौं – यही शुक्रवार, फागुन ९ गते रिलिजको लागि तयारी गरिएको नेपाली चलचित्र ‘ताण्डवम्’ सेन्सरमा रोकिएको छ । केन्द्रीय चलचित्र जाँच पास समितिले एक दृश्यमा काँटछाँट गर्न लगाएपछि तत्काल यो चलचित्र पास हुन नसकेको हो ।
केन्द्रीय चलचित्र जाँच पास समितिका सदस्य भूपेन्द्र बहादुर खड्काले सेन्सरमा फेल गरेको नभई महिलाहरूलाई महिलालाई अनावश्यक रूपमा प्रताडित गरेको एक दृश्यलाई कलात्मक बनाउन लगाइएको बताए । “महिलालाई अत्यधिक पीडा दिएर मार्ने ५-६ मिनेट लामो असंवेदनशील दृश्य छ । त्यो दृश्यलाई छोटो र कलात्मक हिसाबले मिलाएर ल्याउन मात्र भनिएको हो, सेन्सर फेल नै गरेको होइन,” खड्काले भने ।
चलचित्रको जाँच पास नभएपछि आज हुने भनिएको प्रिमियर समारोह पनि रोकिएको छ । यसबारेमा निर्माताले प्रस्ट रूपमा नभन्दा समस्या देखिएको खड्काले बताए । उनले भने, “आज प्रिमियर छ भन्ने समयमा नै थाहा पाएको भए तुरुन्तै मिलाएर ल्याउन भनेर पास गराउन सकिने थियो । आजको कार्यक्रमबारे थाहा भएन, आज बिदाको दिन भएकाले केही समस्या पर्यो ।”
जुनिम गहतराजद्वारा निर्देशित यस चलचित्रमा नव विवाहित जोडीको जीवनमा आउने अप्रत्याशित घटनाहरू रहेका छन् । एक्सन थ्रिलर जनरामा बनेको यस चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अङ्कित खड्का, अनोज पाण्डे, कमल कार्की, गोपाल कटुवाल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सिंहदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।
दृश्यहरू मिलाएपछि यो चलचित्रले ‘एडल्ट’ प्रमाणपत्र सहित निर्धारित मितिमा नै हलमा रिलिज हुने अपेक्षा गरिएको छ ।