
काठमाडौं – नेपाली चलचित्र उद्योगमाथि अदालतको हस्तक्षेपबारे चर्को बहस भइरहेको बेला नयाँ नेपाली चलचित्र ‘लाज शरणम्’ को प्रचारमा रोक लगाइएको छ । मङ्गलवार पाटन उच्च अदालतले चलचित्र सेन्सर बोर्डबाट स्वीकृति नपाउँदासम्म प्रचारप्रसार नगर्न आदेश दिएको छ । पूर्व मन्त्री मोहम्मद अफताव आलमले चलचित्रको पात्र आफूलाई मिलाइएको भन्दै अदालतमा रिट दायर गरेका थिए, जसपछि यस्तो निर्णय आएको हो ।
नेपाली फिल्मकर्मीहरू भने अदालतको यो निर्णयले फिल्म उद्योगको स्वतन्त्रता सङ्कुचित बनाउनेतर्फ गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् । यसअघि चलचित्र ‘एक्टर: टेक वन’ पनि अदालतको आदेशका कारण रोकिएको थियो ।
‘एक्टर: टेक वन’का निर्माता थमन कुमार भण्डारी आफ्नो चलचित्र कुनै पूर्व जानकारी र आधिकारिक पत्र बिना चलचित्र प्रदर्शन रोकिएको घटनाले गहिरो चोट लागेको बताउँछन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश पोख्दै भनेका छन्, “अदालतबाट म स्वयंले चलचित्र नचलाउनू भन्ने आदेश पाएँ। अदालतकै न्यायाधीशले ‘चलचित्र भन्ने कुरा बिग्रिने (सड्ने) होइन’ भनेर भनेको कुरा मेरो कानले सुनेको थिएँ।”
उनले थपेका छन्, “अहिले फेरि अर्को चलचित्र ‘लाज शरणम्’लाई अदालतले प्रचारमा रोक लगाइदिएको छ । सेन्सर पास नभई कुनै पनि गतिविधि गर्न नपाइने आदेश दिएको छ । यसको अर्थ के हो? नेपाली फिल्म क्षेत्रका ती निकायहरू, ती सङ्घ-संस्थाहरू के को लागि हुन्? यदि अन्ततः निर्णय अदालतले नै गर्ने हो भने, सबै कुरा अदालतबाट आदेश लिएर मात्र काम गरौँ !”
भण्डारीले चलचित्रमाथि यसरी बारम्बार हस्तक्षेप हुनुमा गहिरो आपत्ति जनाएका छन् । “संसारभरि सिनेमामा सेन्सरशिपको विरोध भइरहेको बेला, नेपालमा अदालतले नै “पहिले सेन्सर पास गर, अनि मात्र प्रचार गर” भन्ने आदेश दिनुको अर्थ के हो? के नेपाली फिल्ममेकरहरूले सिर्जनात्मक अभिव्यक्ति गर्ने स्वतन्त्रता गुमाइसके?” भण्डारीको प्रश्न छ ।
उनले भनेका छन्, “यदि अन्ततः चलचित्रमाथि यति धेरै नियन्त्रण लगाउनु नै हो भने, अदालतले सिधै ‘चलचित्र नबनाऊ’ भन्ने आदेश नै दिए हुन्छ । हामी फिल्ममेकरहरू अर्को नै पेसा अपनाउँछौँ । हरेक पात्र, हरेक कथा जाँच्दै हिँड्नु पर्ने अवस्था आउँछ भने, नेपाली फिल्म उद्योग नै बन्द गरिदिने निर्णय किन नगर्ने ?”
भण्डारीले चलचित्र निर्माणको प्रक्रिया, फिल्मकर्मीहरूको सङ्घर्ष र उनीहरूले खर्च गरेको समय, श्रम, लगानीको मूल्य बुझ्नुपर्ने बताउँछन् । “केही व्यक्तिहरूले ‘फिल्म रोक्दा के भो त ?’ भन्ने कुरा सजिलै भन्दै गरेको देख्छु । साँच्चै नै अचम्म लाग्छ ! साथी, जब तिमीमाथि यस्तै अन्याय पर्छ, अनि मात्र तिमीलाई थाहा हुन्छ – तिम्रो पैसा, तिम्रो परिश्रम, तिम्रो सपना कसरी क्षणभरमै ध्वस्त पारिन्छ !”
‘एक्टर: टेक वन’ र ‘लाज शरणम्’ विवादसँगै नेपाली चलचित्र क्षेत्रको भविष्यमाथि गम्भीर प्रश्न उठ्न थालेको छ । फिल्मकर्मीहरू यसबारे गम्भीर छलफल गर्नुपर्नेमा जोड दिइरहेका छन् ।
‘एक्टर: टेक वन’का निर्माता भण्डारीले विविध कारणले आफ्नो चलचित्रले व्यापारमा अप्ठेरो भोग्न बाध्य भएको कारण पुनः रिलिज गर्ने तयारी गरेका बताए ।