दृश्य काँटछाँटपछि ‘ताण्डवम्’ सेन्सर पास, शुक्रवारदेखि नै प्रदर्शन हुने



काठमाडौं – अत्यधिक हिंसात्मक दृश्य रहेको भन्दै रोकिएको नेपाली चलचित्र ‘ताण्डवम्’ अन्ततः सेन्सर पास भएको छ । निर्माण टिमले व्यापक सम्पादन र दृश्य कटौती गरेपछि केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले चलचित्रलाई ‘पिजी सर्टिफिकेट’ प्रदान गरेको छ ।

निर्देशक तथा अभिनेता जुनिम गहतराजका अनुसार, सेन्सर समितिले सुझाएका हिंसात्मक दृश्यहरू हटाइएपछि चलचित्रलाई अनुमति दिइएको हो । अब १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा मात्रै चलचित्र हेर्न पाउनेछन् ।

सेन्सर प्रक्रियाका क्रममा चलचित्रको मूल कथा र मर्मलाई असर नपर्ने गरी दृश्य कटौती गरिएको निर्देशक गहतराजले बताए । पहिलो पटक सेन्सरमा पेस गरिएको २ घण्टा ६ मिनेटको चलचित्र सम्पादनपछि करिब १० मिनेट छोट्याएर १ घण्टा ५६ मिनेटको बनेको छ ।

“हामीले दर्शकलाई उत्कृष्ट चलचित्र पस्किने प्रयास गरेका छौँ, सेन्सर बोर्डबाट पनि सकारात्मक प्रतिक्रिया पाएका छौँ । त्यसैले दर्शक र समीक्षकहरूले ‘ताण्डवम्’ मन पराउनेमा विश्वस्त छौँ,” गहतराजले भने ।

सेन्सर पास भएसँगै हलहरूले टिकट बुकिङ खुला गरेका छन् । चलचित्र यही शुक्रवार, फागुन ९ गतेदेखि देशभर प्रदर्शनमा आउँदै छ ।

एक्सन-थ्रिलर जनरामा बनेको ‘ताण्डवम्’ले नव विवाहित जोडीको जीवनमा घट्ने अप्रत्याशित घटनाहरूको कथा प्रस्तुत गर्छ । चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अङ्कित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की, र गोपाल कटुवालको अभिनय रहेको छ ।

सिंहदेवी प्रोडक्सनले भिजुअल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण गरेको चलचित्रका निर्माता धनकुमारी गहतराज, सविना मगर, र मनिष गौतम हुन् । हरि घले लामाको छायाङ्कन, सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको सङ्गीत, र कोविद बज्रको ब्याकग्राउन्ड म्युजिक रहेको चलचित्रको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu