
काठमाडौं – हरिवंश आचार्य अभिनीत नेपाली चलचित्र भूठान को टिजर सार्वजनिक भएको छ । भूठान शब्दले कुनै बेला आफ्नो घर रहेको तर हाल हराइसकेको वा रूपान्तरण भइसकेको स्थानलाई जनाउँछ ।
ओएसआर डिजिटलमार्फत सार्वजनिक टिजरमा हरिवंश आचार्य एक अनौठो पात्रका रूपमा प्रस्तुत भएका छन् । उनी एक भुटानी आप्रवासीको भूमिकामा देखिएका छन्, जो स्वदेश फर्कन चाहन्छन् तर परिस्थितिले अप्ठ्यारो बनाएको छ । मानसिक सङ्घर्षको सामना गरिरहेको उनको चरित्रले चलचित्रको गहिरो भावनात्मक पक्षलाई उजागर गर्छ ।
टिजरमा दयाहाङ राई र जोयश पाण्डे अभिनीत पात्रहरू दाजुभाइका रूपमा देखिन्छन्, जो आफ्ना दिवङ्गत बाबुको अन्त्येष्टिका लागि बहस गरिरहेका छन् – गाड्ने कि जलाउने? यो दृश्यले कथाको भावनात्मक गहनतालाई झल्काउँछ । अर्को दृश्यमा अभिनेत्री ऋचा घिमिरे समलैंगिक सम्बन्धप्रति असहमति जनाउँदै आफ्नी छोरीलाई हकार्दै गरेकी देखिन्छिन् । यसले परम्परागत सोच र आधुनिक सामाजिक स्वतन्त्रताबीचको द्वन्द्व प्रस्तुत गर्छ ।
चलचित्रको अर्को मुख्य आकर्षण हलिउड अभिनेता ब्रूस डर्नको सहभागिता हो । उनले पहिलो पटक नेपाली निर्देशकद्वारा निर्देशित चलचित्रमा अभिनय गरेका छन्, जसले यस चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरसम्म उचालेको छ । टिजरको अन्त्यमा महामृत्युञ्जय मन्त्रको ध्वनि र पुनर्जन्मको सङ्केत दिने दृश्यहरूले कथालाई थप रहस्यमयी बनाउँछ ।
सिनेमाटोग्राफीको पक्षमा सुसन प्रजापतिको उत्कृष्ट काम देखिन्छ । निर्देशक विनोद पौडेलले हलिउड र नेपाली कलाकारहरूको संयोजनमार्फत एउटा पृथक् ‘सिनेमेटिक भिजन’ प्रस्तुत गरेको आभास हुन्छ ।
चलचित्रमा हरिवंश आचार्यसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोयश पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी र हलिउड अभिनेता ब्रूस डर्नको अभिनय रहेको छ । ‘द वर्ल्डस् ह्याप्पिएस्टम्यान’ शीर्षकमा अङ्ग्रेजी संस्करण समेत तयार गरिएको यो चलचित्र साग अफ्ट्रा अन्तर्गत बनेको पहिलो नेपाली फिल्म हो, जसमा केही हलिउड प्राविधिकहरूको संलग्नता छ ।
यसअघि बुलबुल निर्देशन गरी राष्ट्रिय पुरस्कार जितेका विनोद पौडेलको यो दोस्रो निर्देशकीय प्रोजेक्ट हो । चलचित्रको निर्माणमा अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताव जोशी, सुशांक मैनाली, किर्तना बाँस्कोटा लगायतका निर्माताहरू छन् भने कार्यकारी निर्माता विकाश भिटो अधिकारी, कौशिला खनाल कर्माचार्य, रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल रहेका छन् । सह-निर्मातामा जोयश पाण्डे, प्रदीप शर्मा (बडाईं), राजु पौडेल, रविन पोखरेल, नवराज पराजुली छन् ।
प्राविधिक पक्षमा छायाङ्कन सुसन प्रजापति, सम्पादन अन्जय खड्का, ध्वनि डिकेश खडगी शाही, सङ्गीत सम्बरन प्रेथु राई, कास्टिङ सुर्य शाही, पब्लिसिटी डिजाइन उज्ज्वल श्रेष्ठ, प्रोडक्सन डिजाइन विमल सुवेदी र कला निर्देशन बलिउडका चर्चित कला निर्देशक अञ्जन गजुरेलले गरेका छन् ।
नेपालको अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्म्स को सहकार्यमा निर्मित यो चलचित्रले भुटानी शरणार्थीहरूको सङ्घर्ष, देश प्रेम, र प्रवासको पीडालाई पर्दामा उतारेको छ । भूठान आगामी वैशाख १२ मा विश्वव्यापी रूपमा प्रदर्शन हुनेछ ।
टिजर:




