
काठमाडौं – चलचित्र ‘कल्ली’को छायाङ्कनका लागि नायक उत्तम प्रधान नेपाल आएका छन् । भारतबाट काठमाडौं आएका उनलाई चलचित्रका प्रस्तुत कर्ता किरण नेपालीले विमानस्थलमा स्वागत गरे ।
उत्तम प्रधानले चलचित्रमा प्रमुख भूमिका निभाउनेछन् । उनी करिब ३५ दिन नेपालमा बिताउनेछन्, जसक्रममा चलचित्रको सम्पूर्ण छायाङ्कन सम्पन्न हुनेछ । प्रस्तुत कर्ता किरण नेपालीका अनुसार, उत्तम प्रधान नेपाल बस्दासम्म चलचित्रको छायाङ्कन निरन्तर अघि बढ्नेछ ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको निर्देशन लक्ष्मण सुनारले गर्दै छन् । हिमाल कडरीया र अमला देवी राई चलचित्रका निर्माता हुन् भने महेश दवाडीले लेखनमा योगदान दिएका छन् । कार्यकारी निर्माताको रूपमा सरोज नेपाली छन् ।
चलचित्रमा उत्तम प्रधानसँगै सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी र बेगम नेपालीको अभिनय रहनेछ ।
चलचित्रका छायाङ्कन निर्देशक निसाल पौडेल हुन् भने निर्माण प्रमुखको जिम्मेवारी सुरज आचार्यले सम्हाल्नेछन् । लामो समयपछि नेपाली चलचित्रमा कमब्याक गर्न लागेका उत्तम प्रधान केही समयअघि मात्र नायिका निरुता सिंहसँग एक म्युजिक भिडियोमा देखिएका थिए ।