
काठमाडौं – शुक्रवारदेखि १३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रा.लि.ले चलचित्र विकास बोर्डसँगको सहकार्यमा आयोजना गरेको यो महोत्सव काठमाडौं भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा तीन दिनसम्म चल्नेछ ।
महोत्सवमा नेपालसहित १७ अफ्रिकन देशका ४९ वटा चलचित्र प्रदर्शन हुनेछन् । जसमध्ये ४७ वटा चलचित्र प्रतिस्पर्धामा छन् भने दुई वटा चलचित्रलाई गैर-प्रतिस्पर्धी रूपमा प्रदर्शन गरिनेछ ।
महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रले नेपाल र अफ्रिकालाई चलचित्रको माध्यमबाट जोड्न १४ वर्षअघि यो महोत्सव सुरु गरिएको जानकारी दिइन् । यस वर्षदेखि अफ्रिकासँगै अन्य देशका अन्तर्राष्ट्रिय चलचित्र पनि समावेश गरिएको उनले बताइन् । महोत्सव निर्देशक डब्बु क्षत्रीले अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सव आयोजना गर्न कठिन भए पनि चलचित्र विकास बोर्डको सहयोगले सहज भएको बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय चलचित्र नीति अन्तिम चरणमा पुगेको र धुलिखेलमा इनडोर चलचित्र छायाङ्कन स्टुडियो निर्माणको लागि टेन्डर आह्वान भइसकेको जानकारी दिए । उनले यस्ता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाली चलचित्र संस्कृति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य थपलियाले १४ वर्षदेखि नियमित आयोजना हुँदै आएको यो महोत्सवले अफ्रिकासहित विश्वका चलचित्रलाई एकै ठाउँमा ल्याएर चलचित्र संस्कृति आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । यस्ता महोत्सवले चलचित्र पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने उनको भनाई थियो ।
उद्घाटन समारोहमा गायक डेभिड शङ्कर, प्रहरी नायव निरीक्षक सन्तोष लामा, गायक सुरज पौडेल र सुवास महतलाई सम्मान गरिएको थियो । महोत्सवमा रौनक विक्रम कँडेलको ‘द रेड’ र मोरक्कोका मोहम्मद डबानीको ‘जैद’ उद्घाटन चलचित्रका रूपमा प्रदर्शन गरिएको थियो । शनिवार छक्का पन्जा ५, ऐँचो पैँचो लगायतका चलचित्र प्रदर्शन गरिएका छन् ।
महोत्सवमा अन्तर्राष्ट्रिय निर्णायकमा दक्षिण अफ्रिका, भारत र बङ्गलादेशका चलचित्रकर्मी रहेका छन् भने नेपाली कथानक चलचित्रको निर्णायकमा मिलन चाम्स, रघुनाथ सापकोटा र शोभा पाण्डे छन् । महोत्सवमा शनिवार चलचित्र इफेक्ट मेकअपको कार्यशाला पनि आयोजना गरिएको छ ।