निर्देशक घिमिरेलाई स्वास्थ्य लाभ भएसँगै ‘पहाड’ को छायाङ्कन पुनः सुरु



काठमाडौं – चर्चित निर्देशक तुलसी घिमिरेको निर्देशनमा बन्न लागेको चलचित्र ‘पहाड’ को छायाङ्कन पुनः सुरु भएको छ । गत माघ २२ गते मुहूर्त गरेसँगै चलचित्रको छायाङ्कन प्रारम्भ भएको थियो, तर स्वास्थ्य समस्याका कारण निर्देशक घिमिरे दोस्रो दिनदेखि सुटिङमा सहभागी हुन नसकेपछि काम स्थगित गरिएको थियो । अब, उनको स्वास्थ्य सुधार भएसँगै फागुन ९ गतेदेखि गोरखामा चलचित्रको छायाङ्कन सुचारु भएको छ ।

चलचित्रको कथा हाल नेपाली समाजले भोगिरहेको एक गम्भीर यथार्थमा केन्द्रित छ । निर्देशक तथा लेखक घिमिरेका अनुसार, ‘पहाड’ ले देशबाट युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका गाउँहरू र त्यसले ल्याउने सामाजिक तथा आर्थिक प्रभावलाई चित्रण गर्नेछ । उनले भने, “मानव बसोबासविहीन बन्दै गएका उच्च पहाडहरूको कथा समेटिएको यो चलचित्रले दर्शकलाई गहिरो सामाजिक सन्देश दिनेछ । हामीले चलचित्रको विषयवस्तु अनुरूप विभिन्न पुस्ताका कलाकारहरूलाई समेटेका छौँ ।”

निर्देशक घिमिरे स्वास्थ्य लाभ पछि छायाङ्कनमा फर्किएर नयाँ ऊर्जा सहित काम गरिरहेका छन् । चलचित्रका निर्माता ओजस्वी केसी हुन् भने छायाङ्कनको जिम्मेवारी अनुभवी सिनेमाटोग्राफर प्रमोद प्रधानले सम्हालेका छन् । प्रधानले भारतमा चलचित्र, वेब सिरिज र टेलीचलचित्र छायाङ्कन गरिसकेका छन् । नेपाली चलचित्र उद्योगमा ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’, ‘दक्षिणा’ जस्ता चलचित्रहरूमा निर्देशक घिमिरेसँग सहकार्य गरिसकेका प्रधान करिब तीन दशकपछि नेपालमा नेपाली चलचित्र छायाङ्कनका लागि आएका हुन् ।

चलचित्रको छायाङ्कन २५ दिन गोरखा र त्यस आसपासका क्षेत्रमा तथा १५ दिन भारतमा हुने योजना छ । भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रमा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेणुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारहरू अभिनय गर्दैछन् ।

‘पहाड’ मार्फत निर्देशक घिमिरेले आफ्नो कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनेत्रीको रूपमा डेब्यु गराउँदैछन्। यस्तै, उनकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको रूपमा काम गरिरहेकी छिन् । सङ्गीतको जिम्मेवारी चर्चित सङ्गीतकार रञ्जित गजमेरले लिएका छन् भने भारती घिमिरे चलचित्रकी क्रिएटिभ निर्देशक हुन् । सह निर्माताको रूपमा रिम्पोछे लामा थिङ र सुरेश लामा थिङ रहेका छन् । प्रचार सामग्रीको डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्ट ले तयार पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu