‘रेशम फिलिली’को विरासत फर्काउने दाउमा ‘फेरि रेशम फिलिली’का निर्देशक



काठमाडौं – २०७२ सालमा ‘रेशम फिलिली’ले कमेडी सिनेमाको नयाँ धार खडा गर्‍यो । ‘जालमा’ गीतको लोकप्रियता र हास्यव्यङ्ग्यले भरिएको ट्रेलरले दर्शकको मन जित्यो । चलचित्रले पनि सुरुवाती दिनमा व्यापक दर्शक पायो तर, वैशाख १२ गतेको भूकम्पले तहसनहस पारेपछि प्रदर्शन स्थगन भएको थियो । अब झन्डै एक दशकपछि यही शुक्रवार यसको सिक्वेल ‘फेरि रेशम फिलिली’ आउन लाग्दा फेरि सिनेप्रेमीहरू उत्साहित भएका छन् ।

तर, यस पटक एउटा फरक कुरा छ । सिक्वेलको निर्देशन डेब्यु निर्देशक निरोज महर्जनले गर्दैछन् । प्रायः सिक्वेलहरू पुरानै निर्देशकले बनाउने चलन भए पनि, यसमा भने नयाँ अनुहारले जिम्मेवारी पाएका छन् । त्यसैले, धेरैको मनमा यो प्रश्न छ, के निरोजले पहिलो सिनेमाको साख जोगाउलान्? के उनले सिनेमाको मूल भावनालाई न्याय देलान्?

निरोज यो सिनेमासँग पहिल्यैदेखि जोडिएका थिए । उनी ‘रेशम फिलिली’को निर्माण प्रक्रियामा विभिन्न भूमिकामा संलग्न थिए । ‘म त्यो टिमको सदस्य नै थिएँ । प्रोडक्सनको काम मामाले हेर्नुहुन्थ्यो भने निर्देशक प्रणव जोशीसँग मेरो पहिलेदेखि नै चिनजान थियो । हामीले म्युजिक भिडियोहरूमा सँगै काम गरेका थियौँ । मैले चलचित्रमा सानो भूमिका पनि निभाएको थिएँ,’ निरोज सम्झन्छन् ।

सिक्वेलहरू प्रायः पहिलो सिनेमाको छाया बन्ने गर्छन् । यस्तोमा निरोजले यही चलचित्रलाई आफ्नो डेब्यु बनाउनुको कारण के होला? ‘सबै कुरा मिल्दै गयो । हामी चलचित्र बनाउने योजनामा थियौँ । यो पहिले नै स्थापित नाम भएकाले, डेब्युका लागि योभन्दा राम्रो अवसर अरू के हुन्थ्यो र ! अनि, यो कथा मेरो आफ्नै हो । फिलिलीको संसारमा यो कथा फिट भएर नै मैले यसलाई रोजेको हुँ,’ उनले भने ।

त्यसैले, निरोजलाई आफ्नो सिनेमाले दर्शकलाई निराश नपार्ने विश्वास छ । उनको लागि चुनौती भनेको पहिलो सिनेमाको निर्देशकको छायाबाट बाहिर निस्कनु हो । यसमा उनी आशावादी छन् । ‘त्यही उद्देश्यले नै काम गरेको छु । गीत, टिजर र ट्रेलरलाई दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ । सिनेमा रिलिज भएपछि दर्शकले थप स्पष्ट रूपमा प्रतिक्रिया दिनुहुनेछ। तर, मैले आफ्नो कथा भनेको छु, जुन सिनेमामा देखिने नै छ ।’

सिनेमाको मुख्य विशेषता भनेको भरपुर हाँसो हो । रेशम र हरियाको मित्रताको कथाले दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ । निरोजको प्रस्तुति कस्तो होला, यो दर्शकको लागि चासोको विषय हो । ‘मलाई विश्वास छ, यो सिनेमाले पनि दर्शकलाई उत्तिकै हँसाउनेछ। टिजर र ट्रेलरमा मैले ‘नट जस्ट अ कमेडी’ भनेर लेखेको छु । यसमा कथा छ, सन्देश छ । कमेडीसँगै ड्रामा पनि छ । म यसलाई कमेडी-ड्रामा भन्न रुचाउँछु । यो पहिलोभन्दा पक्कै फरक छ,’ निरोजले भने । उनलाई आफ्नो सिनेमा पहिलोभन्दा कथाको हिसाबले अझ राम्रो लाग्छ । ‘दर्शकले यसलाई स्वीकार गर्नुहुनेछ। यसमा बलियो विषय र मुद्दा छ,’ उनी थप्छन् ।

रिलिज मिति नजिकिँदै गर्दा, निरोज उत्साहित छन् । ‘पहिलो राम्रो कि तपाईँको?’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘त्यो दर्शकले नै बताउने हो । तर, दुवै सिनेमा फरक छन्। पहिलोमा स्ल्यापस्टिक कमेडी थियो, यसमा ड्रामा बढी छ । हामीले यसमा बलियो कथा प्रस्तुत गर्न खोजेका छौँ । कमेडी त छँदैछ, तर विषयवस्तुको हिसाबले यो बढी बलियो छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu