रियलस्टेट र होटेल व्यवसायमा संलग्न नवीनले किन बनाए ‘लाज शरणम्’ ?



काठमाडौं – चलचित्र ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले आफूले उच्च स्तरको चलचित्र निर्माण गर्न कुनै सम्झौता नगरेको स्पष्ट पारेका छन् । उनका अनुसार, बजेट, लोकेसन र समय जस्ता महत्त्वपूर्ण पक्षमा उनले कुनै पनि कटौती नगरी चलचित्रलाई उत्कृष्ट बनाउन लागिपरेका छन् ।

रियलस्टेट र होटेल व्यवसायमा संलग्न नवीन श्रेष्ठको यो पहिलो चलचित्र लगानी हो । यसअघि कला, साहित्य वा चलचित्र क्षेत्रमा उनले कुनै लगानी गरेका थिएनन् । उनले भने, “लाज शरणम्”को टिमको लगाव र मेहनत देखेपछि मैले यो क्षेत्रमा प्रवेश गर्ने निर्णय गरेको हुँ । अब चलचित्र क्षेत्रमा निरन्तर लागिरहनेछु ।”

व्यावसायिक रूपमा रियलस्टेट व्यापार केही सुस्ताएको समयमा फिल्म क्षेत्रमा प्रवेश गरे पनि उनले यस यात्रालाई निरन्तरता दिने बताउँछन् । चलचित्र क्षेत्रमा आउनुको पछाडि आफूले आर्थिक मात्र नभई, रणनीतिक कारणहरू पनि रहेको उनको धारणा छ ।

“चलचित्र नेपालका लागि विदेशी मुद्रा भित्र्याउने माध्यम हुन सक्छ,” नवीन भन्छन्, “जसरी विदेशी चलचित्रले नेपालबाट पैसा लैजान्छन्, हामीले पनि उत्कृष्ट चलचित्र बनाएर विदेशी बजारबाट डलर भित्र्याउनु पर्छ । यसका लागि निर्माता, कलाकार र सरकार सबैले योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ।”

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न समग्र फिल्म क्षेत्र मिलेर काम गर्नुपर्ने उनको धारणा छ ।

यही फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुन लागेको “लाज शरणम्” हास्य प्रधान चलचित्र हो, जसलाई लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको हो । चलचित्रमा सिताराम कट्टेल (धुर्मुस) मुख्य भूमिकामा छन् भने निर्देशन कुमार कट्टेलले गरेका छन् ।

यसमा विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिस निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायतका कलाकारको अभिनय छ ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको यस चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् भने सह-निर्माताको रूपमा राम नरेश शाह र सिर्जना खड्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu