महाशिवरात्रिका तीन चलचित्रको अग्रिम बुकिङ सुरु



काठमाडौं – यस पटकको महाशिवरात्रिको अवसरमा तीन नेपाली चलचित्र ‘फेरि रेशम फिलिली’, ‘लाज शरणम्’ र ‘मायावी’ एकैसाथ प्रदर्शनमा आउँदै छन् । यी चलचित्रहरूको अग्रिम बुकिङ खुलिसकेको छ, जसमा दर्शकहरूको उत्साहजनक प्रतिक्रिया देखिएको छ ।

‘लाज शरणम्’ले अग्रिम बुकिङमा राम्रो उपस्थिति देखाएको छ । देशकै ठुला मल्टिप्लेक्सहरूमध्ये क्यूएफएक्स चेनमा ६५ शो पाएको छ । काठमाडौंका अन्य मल्टिप्लेक्स बिग मुभिज, एफक्यूब, बीएसआर लगायतका हलहरूमा पनि राम्रो शो पाएको छ भने काठमाडौं बाहिरका हलहरूमा पनि उल्लेखनीय शो छन् । हालसम्म यस चलचित्रले देशभर  करिब १५० शो प्राप्त गरेको देखिएको छ ।

लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको यो चलचित्रमा सिताराम कट्टेल (धुर्मुस) मुख्य भूमिकामा छन् भने कुमार कट्टेल निर्देशक हुन् । विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, प्रियाना आचार्य लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चर्चित चलचित्र ‘रेशम फिलिली’ को दोस्रो शृङ्खला ‘फेरि रेशम फिलिली’ ले हालसम्म देशभर करिब १०० शो प्राप्त गरिसकेको छ । ट्रेलर र गीतहरू लोकप्रिय रहेका कारण यो सङ्ख्यामा अझ वृद्धि हुने अपेक्षा गरिएको छ ।

२०७२ सालमा पहिलो संस्करण प्रदर्शन हुँदा ठुलो चर्चा बटुलेको ‘रेशम फिलिली’ को सिक्वेलले मुख्य पात्र रेशमले अमेरिकाको भिसा पाएपछि उत्पन्न परिस्थितिको कथा पेस गर्नेछ । चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह लगायतका कलाकारहरूको अभिनय रहेको छ । सिनेमाटोग्राफी सुसन प्रजापतीले गरेका छन् भने निर्देशन निरोज महर्जनले सम्हालेका छन् ।

‘मायावी’ पनि फागुन १४ मै प्रदर्शन हुँदैछ, जसको अग्रिम बुकिङ खुलिसकेको छ । हालसम्म यो चलचित्रले ९० भन्दा बढी शो प्राप्त गरेको देखिएको छ । यस चलचित्रको सोमवार साँझ भएको प्रिमियरबाट प्राप्त प्रतिक्रियाको कारण शो सङ्ख्या थप हुने अपेक्षा गरिएको छ ।

यस चलचित्रमा पल शाह, दीपिका प्रसाईँ, समीम खान लगायतको प्रमुख भूमिका रहेको छ भने दिवाकर भट्टराईले निर्देशन गरेका छन् ।

महाशिवरात्रिको तीन पक्षीय रिलिज रोचक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu