
काठमाडौं – चलचित्र मायावी बुधवारदेखि देशभर रिलिज हुँदैछ । सोमवार साँझ कीर्तिपुरमा यसको भव्य प्रिमियर भएको छ । पल शाह, दीपिका प्रसाईँ, समीम खान लगायतको अभिनय तथा दिवाकर भट्टराईको निर्देशनमा बनेको यो प्रेमकथाले दर्शकलाई गहिरोसँग छोएको अनुभूति गराएको प्रतिक्रिया प्राप्त गरेको छ ।
साधरणतया कमै मात्र चलचित्र प्रिमियरमा देखिने वरिष्ठ अभिनेता राजेश हमाल ‘मायावी’को प्रिमियरको लागि कीर्तिपुर सिनेप्लेक्स पुगे । चलचित्र हेर्नुअघि नै निकै उत्साहित देखिएका हमालले हेरेपछि मायावीमा प्रेम, सङ्गीत, कथा, प्रस्तुति सबै पक्ष उत्कृष्ट रहेको प्रतिक्रिया दिए । उनले भने, “कथाले मन छोइदिन्छ, गीत-सङ्गीतको प्रयोग अद्भुत छ, र ब्याकग्राउन्ड म्युजिक निकै प्रभावशाली छ । कलाकारहरूको अभिनय पनि लोभलाग्दो छ । यसैले, यस चलचित्रले बजार तताउने कुरामा म ढुक्क छु ।”

चलचित्रको प्रस्तुति प्रति विशेष प्रभावित भएका हमालले यसलाई अन्य लभ स्टोरीभन्दा फरक भएको बताए । “मैले अहिलेसम्म हेरेका प्रेमकथाहरूमध्ये यो बेग्लै छ । कथाको प्रवाह यस्तो छ कि अन्त्य कसरी हुन्छ भन्ने अड्कल लाउन सकिँदैन । मायावी एक विशेष लभ स्टोरी हो,” उनले थपे ।
हमालले निर्देशक दिवाकर भट्टराईको मेकिङको समेत तारिफ गर्दै भने, “मैले उहाँसँग ‘नरसिंहाः अवतार’ मा काम गरिसकेको छु । उहाँ कस्तो निर्देशक हुनुहुन्छ भन्ने मेरो बुझाइ थियो, तर मायावी हेरेपछि उहाँको चलचित्र निर्माण क्षमताले अझै प्रभावित बनायो । चलचित्रले सुरु देखि अन्त्यसम्म गति समातेको छ, जुन दर्शकलाई जोडेर राख्ने महत्त्वपूर्ण पक्ष हो । दिवाकरजीलाई बधाई छ ।”
प्रिमियर शोमा निर्देशक ज्ञानेन्द्र देउजा, पूर्व मिस नेपाल उषा खड्गी, कलाकार सनिषा भट्टराई, उषा उप्रेती, गायक रामकृष्ण ढकाल लगायत पुगेका थिए । त्यस्तै, चलचित्रका मुख्य कलाकार दीपिका प्रसाईँ, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, सुशील सिटौला, राजाराम पौडेल, अंशु महर्जन, नव–नायक समीम खान पनि उपस्थित भए । तर, ‘मायावी’का मुख्य अभिनेता पल शाह भने अन्य चलचित्रको छायाङ्कनका लागि रोल्पामा रहेकाले कार्यक्रममा उपस्थित हुन सकेनन् ।

चलचित्र हेरेपछि उपस्थित चलचित्रकर्मी तथा दर्शकले कथावस्तु र प्रस्तुतिले मन छोएको प्रतिक्रिया दिए । एक दर्शकले भने, “यो चलचित्र हेर्दा आँखामा आँसु आए । नेपाली चलचित्रले यस्तो स्तरमा उत्कृष्ट प्रेमकथा भन्न सक्छ भन्ने कुराले खुसी बनायो ।”
ध्रुव न्यौपाने, राज कटुवाल, र चन्द्र पन्तको लगानीमा निर्माण भएको ‘मायावी’को कथा पोखराको परिवेशमा केन्द्रित छ । कार्यकारी निर्माता प्रवीण भट्टराई र करण सिंह, सह-निर्माता राजु पराजुली र सुमित वली रहेका छन् । क्रियटिभ सिने आर्ट्सका लागि नेम महर्जन पनि चलचित्रको लगानीकर्ता हुन् ।
चलचित्रको सिनेमाटोग्राफी राजु विक्रम थापाले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठको छ । सङ्गीत शम्भुजित बास्कोटा र एसडी योगीले दिएका छन् । कोरियोग्राफी कविराज गहतराज र प्रविण सिंहको छ ।
‘मायावी’को टिकट बुकिङ सोमबार बेलुकादेखि नै खुलेको छ, जसले राम्रो शोज प्राप्त गरेको छ ।