‘आउट लः दफा २१९’को र्‍याप प्रतियोगिता



काठमाडौं – नेपाली चलचित्र आउटलः दफा २१९ फागुन २९ गतेबाट प्रदर्शनमा आउँदै छ । टिजर सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको यो चलचित्रको ट्रेलर केही दिनमै सार्वजनिक हुने तयारीमा छ ।

यसैबीच, निर्माण टिमले ‘न्याय’ शीर्षकमा एक र्‍याप प्रतियोगिता घोषणा गरेको छ । स्याडो पिक्चर्स र रिट्रो फिल्म्स को संयुक्त प्रस्तुति रहेको चलचित्रको यो प्रतियोगितामा इच्छुक प्रतिस्पर्धीले ‘न्याय’ शीर्षकमा आधारित र्‍याप गीत तयार पारेर पठाउनुपर्नेछ । प्रतियोगितामा भाग लिन इच्छुकले गीत लेखी रेकर्ड गरी भिडियो बनाएर पठाउन सक्नेछन् ।

प्रतियोगीहरूले पठाएका भिडियो चलचित्रको आधिकारिक सामाजिक सञ्जालमा पोस्ट गरिनेछ । जसले सर्वाधिक भ्यूज र लाइक्स प्राप्त गर्छ, उसले प्रतियोगिता जित्नेछ । सहभागीहरूले फागुन २३ भित्रै आफ्नो भिडियो पठाइसक्नुपर्नेछ ।

चलचित्रका निर्माता अमित अग्रहरीका अनुसार आउटलः दफा २१९ न्यायको कथामा केन्द्रित भएकाले नै प्रतियोगिताको शीर्षक ‘न्याय’ राखिएको हो ।

विक्की महर्जनको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा कार्यकारी निर्माता विनोद कठायत र सह-निर्माता विकास चौधरी छन् । चलचित्रको सम्पादन साहिल खानले गरेका छन् भने एक्सन चुल्ठे काजीले कोरियोग्राफी गरेका छन् । नवीन गुरुङको छायाङ्कन रहेको चलचित्रमा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu