
काठमाडौं – महाशिवरात्रिको अवसरमा नेपाली बक्स अफिसमा तीन नेपाली चलचित्रहरू प्रदर्शनमा आएका छन् । बुधवारदेखि प्रदर्शनमा आएका ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलिली’ले मल्टीप्लेक्स हलहरूमा राम्रो शो पाएका छन् । प्रदर्शनको पहिलो दिन ‘लाज शरणम्’ अग्रस्थानमा देखिएको छ भने ‘मायावी’ र ‘फेरि रेशम फिलिली’ले पनि क्रमशः दर्शक तान्न थालेका छन् ।
काठमाडौंका विभिन्न हलहरूमा ‘लाज शरणम्’ का बिहानका अधिकांश शो हाउसफुल भएका छन् । टिकट बुकिङ पनि उत्साहजनक रहेकाले चलचित्रले बलियो ओपनिङ गर्ने सङ्केत देखिएको छ । मङ्गलवार नै चलचित्रका केही शो ‘सोल्डआउट’ भइसकेका थिए ।
‘मायावी’ र ‘फेरि रेशम फिलिली’ का बिहानका शो औसत देखिए पनि दर्शकहरू क्रमशः आकर्षित भइरहेका छन् । यदि सकारात्मक प्रतिक्रिया बलियो रह्यो भने यी दुवै चलचित्रले दिउँसोबाट राम्रो गति लिन सक्ने सम्भावना छ ।
कुमार कट्टेल निर्देशित ‘लाज शरणम्’ मा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ । दिवाकर भट्टराईको निर्देशनमा बनेको ‘मायावी’ मा पल शाह, समीम खान र दीपिका प्रसाईँ शीर्ष भूमिकामा देखिएका छन् । त्यस्तै, निरोज महर्जनको निर्देशनमा तयार भएको ‘फेरि रेशम फिलिली’ मा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरसिया, महेश त्रिपाठी, निर शाह लगायतका कलाकारको अभिनय रहेको छ ।