अशोक शर्माले घोषणा गरे चलचित्र ‘डबल ट्रिपल’, दसैँमा प्रदर्शन हुने



काठमाडौं – चलचित्र निर्देशक अशोक शर्मा लामो समयपछि निर्देशनमा फर्किन लागेका छन् । उनले नयाँ चलचित्र ‘डबल ट्रिपल’ निर्देशन गर्ने घोषणा गरेका छन् । महाशिवरात्रिको अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमार्फत उनले चलचित्रको शीर्षक र कलाकारबारे जानकारी दिएका हुन् ।

‘डबल ट्रिपल’ मा दयाहाङ राई, खगेन्द्र लामिछाने, केकी अधिकारी, मिरुना मगर, विल्सन विक्रम राई, उदय सुब्बा, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहनेछ । अशोक शर्मा स्वयं तथा राजेश सिटौलाले कथा तथा पटकथा लेखेका छन् भने शम्भुजित बास्कोटाले सङ्गीत भर्नेछन् । चलचित्रको छायाङ्कन आलोक शुक्लाले गर्नेछन् भने संवाद लेखन शान बस्न्यातले सम्हालेका छन् ।

मनोज पण्डित स्क्रिप्ट डक्टरका रूपमा रहेका छन् भने द्वन्द्व निर्देशन राजु किराँतीले गर्नेछन् । चलचित्रका नृत्य दृश्यहरूको कोरियोग्राफी सुनिल क्षेत्रीले गर्नेछन् । ‘डबल ट्रिपल’ को निर्माण किरण शर्मा पौडेल, अङ्कित शर्मा र कीर्ति शर्माले गर्नेछन् ।

निर्देशक शर्माले चलचित्रको घोषणा गर्दै फेसबुकमा लेखेका छन्, ‘हामी आउँदैछौँ, तपाईँको मज्जा डबल होइन, ट्रिपल गर्न!’ 

चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छ । आगामी वर्षको दसैँमा फूलपातीका दिन ‘डबल ट्रिपल’रिलिज हुने छ । यससँगै दसैँको फूलपातीमा प्रदर्शन हुने नेपाली चलचित्रहरूको सङ्ख्या आधा दर्जनभन्दा बढी पुगेको छ । यसअघि ‘बलिदान’, ‘माइतीघर’, ‘दशमी’, ‘महाराज धिराज’ र ‘हरिबहादुरको जुत्ता’ पनि फूलपातीमै आउने तय भइसकेका छन् । त्यस्तै, ‘जारी २’ समेत सोही समयमा रिलिज हुने सम्भावना रहेको छ ।

प्रत्येक वर्ष दसैँको लामो बिदाका कारण फूलपातीको दिन नेपाली चलचित्र बजारमा भिडभाड हुने गर्छ । आगामी वर्ष पनि निर्माता–निर्देशकहरूबीच प्रदर्शन मिति सुरक्षित गर्न प्रतिस्पर्धा चर्किने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu