
काठमाडौं – ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशन गरेका सरोज पौडेलको नयाँ चलचित्र ‘कोशेढुंगा’को औपचारिक शुभ मुहूर्त सम्पन्न भएको छ । सोमबार च्यासलस्थित सेटमा आयोजित समारोहमा निर्देशक, निर्माता, कलाकार तथा प्राविधिकहरूको उपस्थितिमा चलचित्रको मुहूर्त गरिएको हो ।
मुहूर्त सटसँगै चलचित्रको छायाङ्कन आजैदेखि सुरु भएको निर्देशक पौडेलले जानकारी दिएका छन् । प्रारम्भिक रूपमा एक हप्ता काठमाडौंमा छायाङ्कन गरिसकेपछि निर्माण टिम सिनेमाका बाँकी दृश्यहरू खिच्न स्याङ्जा जाने तयारीमा रहेको छ ।

महिला प्रधान कथामा आधारित यस चलचित्रमा सुरक्षा पन्त मुख्य भूमिकामा देखिनेछिन् । आर्यपन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईँ, सिरु विष्ट, उद्धव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकारहरूको अभिनय रहनेछ ।
नरदेवी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माताको रूपमा दिनेश खड्का छन् । चलचित्रको छायाङ्कन बाबु श्रेष्ठले गर्नेछन्, सम्पादन सुरेन्द्र पौडेलको रहनेछ, भने सङ्गीत रिदम कँडेल र आशिष् अविरलले तयार गर्नेछन् । सुवलमणि सापकोटा कास्टिङ डाइरेक्टरको भूमिकामा छन् ।