
काठमाडौं – निर्देशक एकता पौडेलको डेब्यू चलचित्र ‘हर्ष’को औपचारिक शुभ मुहूर्त गरिएको छ । काठमाडौंको ठमेलस्थित त्रिदेवी मन्दिरमा शिवरात्रिको अवसर पारेर पूजा गरिएको यो चलचित्र पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित रहेको छ, जसमा चलचित्रमा खगेन्द्र लामिछाने र वर्षा राउत मुख्य भूमिकामा देखिनेछन् ।
शुभ मुहूर्त समारोहमा चलचित्रका कलाकार तथा निर्माण टिम उपस्थित थिए । खगेन्द्र र वर्षाका अलावा सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, सृष्टि महर्जन, सङ्गीता नापित लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

न्यूयोर्क फिल्म एकेडेमीबाट चलचित्र मेकिङ अध्ययन गरेकी निर्देशक एकता पौडेल दिवङ्गत निर्देशक शिव रेग्मीकी भान्जी हुन् । आमसञ्चारमा स्नातक तथा व्यवस्थापन र नेतृत्वमा स्नातकोत्तर गरेकी उनले यसअघि केही छोटा चलचित्रहरू निर्माण गरिसकेकी छन् ।
फागुन १७ गतेदेखि छायाङ्कन सुरु गर्न लागिएको चलचित्रको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । सिनेमाटोग्राफी आलोक शुक्लाले गर्नेछन् भने सङ्गीत वसन्त सापकोटा र एलिश कार्कीको रहनेछ । सम्पादन लोकेश बज्राचार्यले सम्हाल्नेछन् भने कोरियोग्राफी सुनिल क्षेत्रीले गर्नेछन् ।

ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको ‘हर्ष’का निर्माता प्रसन्न पौडेल र विकास पौडेल (चितवन) हुन् भने कार्यकारी निर्माताको रूपमा हिक्मत चोखल (चितवन) रहेका छन् । कुलदीप शर्मा मुख्य सहायक निर्देशक र ईश्वर घिमिरे निर्माण नियन्त्रकको भूमिकामा छन् ।
निर्माण पक्षका अनुसार ‘हर्ष’ २०८२ सालमा प्रदर्शन हुने लक्ष्य राखिएको छ ।