काठमाडौं – नेपालको चलचित्र क्षेत्रमा अभिनयको छुट्टै पहिचान बनाएका महेश त्रिपाठी अहिले दुई चलचित्रका तस्बिरहरूमार्फत चर्चामा छन् । यी दुई तस्बिरहरू चलचित्र ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’का हुन् । यी दुबैमा उनको दमदार अभिनयले प्रशंसा पाइरहेको छ । यी दुई चलचित्रमा संयोग यस्तो रह्यो कि यी दुवै चलचित्र एउटै समयमा छायाङ्कन भएका थिए र एउटै दिन रिलिज पनि भए । यी दुवै चलचित्र महाशिवरात्रिको अवसरमा फागुन १४ गते रिलिज भएका हुन् ।
महेशका लागि यी चलचित्रहरूको छायाङ्कन समय जटिल मात्र होइन, अत्यन्तै चुनौतीपूर्ण थियो । करिब १५ दिनसम्म उनले ‘लाज शरणम्’को छायाङ्कन काठमाडौंमा र ‘फेरि रेशम फिलिली’ को छायाङ्कन नवलपरासीको गैँडाकोटमा एकैसाथ सम्हाल्नुपर्यो । “राति ‘लाज शरणम्’ को छायाङ्कन काठमाडौंमा हुन्थ्यो भने दिउँसो ‘फेरि रेशम फिलिली’ को छायाङ्कनका लागि गैँडाकोट पुग्नुपर्थ्यो,” महेश भन्छन्, “हरेक दिन गैँडाकोटबाट छायाङ्कन सकेर चार-पाँच घण्टा ड्राइभ गर्दै काठमाडौं आइपुग्थेँ, अनि बिहान फेरि गैँडाकोट फर्किन्थेँ । ‘फेरि रेशम फिलिली’ का लागि हेयरस्टाइल तयार गर्न मात्र दुई घण्टा लाग्थ्यो । ती १५ दिन मेरो जीवनका सबैभन्दा कठिन तर महत्त्वपूर्ण समय थिए ।”

यस्तो कठोर मेहनतकै बीच उनले लगभग सडक दुर्घटनामा परेका थिए । सुरुका दिनमा उनी आफैँ गाडी चलाउँथे, तर दुर्घटनाको सङ्घारमा पुगेपछि ‘फेरि रेशम फिलिली’ का निर्माताले उनलाई चालकको व्यवस्था गरिदिएका थिए ।
‘लाज शरणम्’मा महेशले ‘सन्देश’ नामक पात्रको भूमिका निर्वाह गरेका छन् । सन्देश डोल्पा जिल्लाको विकट भौगोलिक तर अनुपम प्राकृतिक सौन्दर्यले भरिएको गाउँमा जन्मे हुर्केका व्यक्ति हुन् । आफ्नो जन्मभूमिप्रति गहिरो माया राख्ने सन्देश एक असामान्य परिस्थितिको सामना गरेपछि गाउँका लागि केही गर्नुपर्छ भन्ने दृढ सङ्कल्पका साथ सहर प्रस्थान गर्छन् । त्यसपछि उनको जीवनमा जे आइपर्छ त्यही चरित्र कुशलतापूर्वक निर्वाह गरेका कारण महेश चर्चामा छन् ।
त्यस्तै, ‘फेरि रेशम फिलिली’मा महेश ‘पुष्पा’ नामक पात्रमा देखिएका छन्, जो एक समलैंगिक व्यक्ति हुन् । समाजमा समलैंगिकता अझै पनि सहज रूपमा स्वीकृत नभएको यथार्थ चित्रण गर्दै फिल्मले पुष्पाको कथा प्रस्तुत गर्छ । पुष्पा प्रेममा छन्, तर उनको सम्बन्ध परिवारका लागि अस्वीकार्य छ । समाजको पूर्वाग्रही दृष्टिकोणका कारण उनी आफ्नो वास्तविकता खुलेर स्विकार्न सक्दैनन्, परिवार र समाजको स्वीकृति नपाउँदा अनमेल विवाहको लागि तयार हुन बाध्य छन् । पात्रको भित्री सङ्घर्ष, प्रेम, स्वीकृति र पहिचानको खोजीलाई महेशले प्रभावशाली रूपमा चित्रण गरेका छन् ।
यी चलचित्रका लागि उनले शारीरिक रूपमा पनि ठुलो त्याग गरेका छन् । दुवै फिल्ममा भूमिका सुहाउँदो बनाउन महेशले आफ्नो तौल घटाएर ५६ किलो पुर्याएका थिए ।
महेशलाई नेपाली दर्शकले चलचित्र ‘हल्कारा’ मार्फत गहिरो रूपमा चिनिसकेका छन् । अभिनयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनले धेरै कलाकारहरूको अभिनय क्षमता निखार्न पनि महत्त्वपूर्ण भूमिका खेलेका छन् । पछिल्लो पटक उनले चलचित्र ‘पुजार सार्की’को लागि अभिनेता प्रदिप खड्काले निभाएको ‘मैते’ भूमिकाको लागी ‘मेन्टर’ गरेका थिए ।
‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’ का निर्देशक तथा निर्माताहरूले विश्वास गरी दिएका चुनौतीपूर्ण भूमिकाहरू सफलतापूर्वक निभाएका महेशलाई चलचित्र क्षेत्र र दर्शकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले उनको सङ्घर्षको सही मूल्याङ्कन गरेको छ ।
महेश भन्छन्, “मलाई विश्वास गर्ने दुवै चलचित्रका निर्माता, निर्देशकहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । दर्शकहरूको माया नै मेरो सबैभन्दा ठुलो प्रेरणा हो ।”
अब उनले प्रमुख अभिनय गरेको चलचित्र ‘११:५५’ पनि रिलिजको तयारीमा छ ।