
काठमाडौं – नेपाली चलचित्र ‘वरिष्ठ बलराम’को आज शुभ मुहूर्त गरिएको छ । काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजापाठ गरी चलचित्रको छायाङ्कन सुरु गरिएको हो ।
सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको यस चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई लगायतका कलाकारहरूको अभिनय रहनेछ । चलचित्रमा माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मी लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।
चलचित्रको छायाङ्कन चितवन र हेटौँडाका विभिन्न ठाउँमा गरिने निर्माण पक्षले जानकारी दिएको छ । ‘वरिष्ठ बलराम’को कथा निर्देशक पौडेल आफैँले लेखेका हुन् भने महेश दवाडीले यसको पटकथा लेखेका हुन् ।
लक्ष्मी पूजाको अवसर पारेर कात्तिक ३ गते चलचित्रलाई देशभर प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । चलचित्र सामाजिक विषयवस्तुमा आधारित रहेको बताइएको छ । चलचित्रमा मनोरञ्जनका साथै सन्देश पनि दिने निर्माण पक्षको दाबी छ ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्यमा निर्माण हुने चलचित्रलाई काठमाडौं उपत्यकामा डिसिएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीव्युसनले वितरण गर्नेछ ।