ऐतिहासिक नेपाली चलचित्र ‘सिन्दूर’ प्रदर्शन गरिने



काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ऐतिहासिक नेपाली चलचित्र सिन्दूर प्रदर्शन गरिने भएको छ । महिला चलचित्रकर्मी सशक्तीकरण समितिको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा यो विशेष स्क्रिनिङ कार्यक्रम मङ्गलवार बिहान १० बजे बोर्डको हलमा हुने छ ।

सन् १९७९ (वि.सं. २०३६) मा रिलिज भएको सिन्दूर नेपाली चलचित्र इतिहासमा विशेष स्थान राख्छ । प्रकाश थापाको निर्देशनमा बनेको यो चलचित्र नेपाली सिनेमाको दोस्रो रङ्गिन चलचित्र हो । काठमाडौंका विभिन्न हलमा संयुक्त रूपमा ५२ हप्ता चल्दै पहिलो सिल्भर जुब्ली चलचित्रको कीर्तिमान कायम गरेको यस चलचित्रमा विश्व बस्नेत, गोपालराज मैनाली, वसुन्धरा भुसाल, नीर शाह लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा पहिलो पटक नीर शाह खलनायकको भूमिकामा देखिएका थिए भने गोपालराज मैनाली र वसुन्धरा भुसाल ‘चङ्खे’ र ‘नक्कली’ को रूपमा लोकप्रिय भएका थिए । यसै चलचित्रमार्फत उदित नारायण झाले नेपाली चलचित्रमा आफ्नो पार्श्वगायन यात्रा सुरु गरेका थिए, जसमा उनले ‘हे नक्कली’ बोलको गीत गाएका थिए । साथै, चर्चित नृत्य निर्देशक वसन्त श्रेष्ठको करिअरको सुरुवात पनि यही चलचित्रबाट भएको थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार महिला सशक्तीकरणको सन्देश बोकेको यो फिल्म विशेष अवसर पारेर पुनः प्रदर्शन गर्न लागिएको हो । ऐतिहासिक महत्त्व बोकेको सिन्दूर ४६ वर्षपछि ठुलो पर्दामा हेर्न पाउनु नेपाली सिनेमा प्रेमीहरूका लागि विशेष अवसर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu