
काठमाडौं – प्रतिभाशाली अभिनेता विपीन कार्की नेपाली चलचित्रमा आफ्नो भर्सटाइल अभिनयका लागि परिचित छन् । हरेक चलचित्रमा फरक लुक्स र चरित्रमा प्रस्तुत हुने उनको यो विशेषता आगामी नयाँ वर्षमा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘कर्मा’ मा पनि देख्न सकिने जनाइएको छ ।
‘कर्मा’ मा उनले अहिलेसम्मकै फरक अवतार अपनाएको निर्माण पक्षको दाबी छ । निर्माताले हालै विपिनको एक फोटो सार्वजनिक गरेका छन्, जसमा उनी एक गम्भीर र टफ लुक्समा प्रस्तुत भएका छन् । उनको अनुहारमा हल्का चोट र कान नजिकै रक्तस्राव देखिन्छ, जसले उनी कुनै प्रकारको लडाइँ, द्वन्द्व, वा खतरनाक परिस्थितिबाट गुज्रिएको संकेत गर्छ । फोटोले उनी कुनै प्रतिशोधी भावनाले प्रेरित भएको, जीवनको कठिन परिस्थितिबाट गुज्रिरहेको वा दबाबमा रहेको जनाउँछ ।
फोटोमा उनी ग्रे-शेडेड (पूरै सकारात्मक, न त पूर्ण नकारात्मक) पात्रको रूपमा छन् । उनलाई यसअघि सार्वनिक पोस्टरमा ब्ल्याक ड्रेस र सटगनसहित देखाइएको थियो । यस भूमिकाका लागि उनले लामो समय जिममा समय खर्चिएका थिए । जसका कारण उनी शारीरिक रूपमा थप आकर्षक देखिने पक्का छ ।
चलचित्रलाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । उनले भने, “हामीले विपीनलाई कथाअनुसार तयार गरेका छौँ, उनले पनि त्यही अनुरूप मेहनत गर्नुभएको छ, जुन टिजरमा देख्न सक्नुहुन्छ ।”
चलचित्रको छायांकन दाङ र काठमाडौंमा गरिएको छ । चैत २९ गते नेपाल र विदेशमा एकसाथ रिलिज हुने ‘कर्मा’ मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय छ ।