
काठमाडौं – दीपेन्द्र के खनालको निर्देशनमा बनिरहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’को छायाङ्कन २९ दिनमा सकिएको छ । चलचित्रको गीत बाहेक अन्य सम्पूर्ण छायाङ्कन सम्पन्न भएको निर्माण टिमले जनाएको छ ।
चलचित्रका मुख्य अभिनेता हरिवंश आचार्यले सहज रूपमा छायाङ्कन सकिएको बताए । उनले निर्देशक दीपेन्द्र के खनालको नेतृत्वमा काम गर्न सहज भएको र कलाकार तथा प्राविधिकको राम्रो टिमका कारण समयमै छायाङ्कन सकिएको बताए ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सरोज ओली र मोहित वंश आचार्यले लगानी गरेका छन् । चलचित्रमा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, राजाराम पौडेल, किरण केसी, हरिहर शर्मा, पार्वती अधिकारी, दिव्य देव पन्त, तारा शर्मा, दिनेश काफ्ले, सिता न्यौपानेलगायतका कलाकारको अभिनय रहेको छ ।
निर्माता सरोज ओलीका अनुसार चलचित्र दसैँको फूलपातीमा रिलिज हुनेछ । उक्त मितिमा रिलिजको लागि बलिदान, माइतीघर, डबल ट्रिपल, दशमी लगायतले पनि घोषणा गरिसकेका छन् ।