
काठमाडौं – निर्देशक दीपक रौनियारको निर्देशनमा बनेको नेपाली चलचित्र ‘राजागंज’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ३ मिनेटको ट्रेलरले २०७२ सालको मधेस आन्दोलनको पृष्ठभूमिमा अपहरणमा परेका दुई बालकको खोजीमा प्रहरीले गरेको सङ्घर्षको कथा प्रस्तुत गर्दछ ।
ट्रेलरमा आन्दोलनको रापमा दुई बालकको उद्धार गर्न प्रहरीले अपनाएको रणनीति र त्यस क्रममा आइपर्ने चुनौतीलाई देखाइएको छ । अभिनेत्री आशा मगराती र अभिनेता दयाहाङ राईबीचको द्वन्द्वले ट्रेलरलाई थप रोचक बनाएको छ ।
निर्देशक रौनियारले ‘राजागंज’ आफ्नो करियरकै सबैभन्दा ठुलो चलचित्र भएको बताएका छन् ।सन् २०१५ को परिवेशमा बनेको यो सिनेमा अन्तर्राष्ट्रिय महोत्सवहरूमा प्रशंसित भइसकेको छ र नेपाली दर्शकले पनि मन पराउने विश्वास उनले व्यक्त गरेका छन् ।
आगामी चैत १ गतेदेखि प्रदर्शनमा आउने ‘राजागंज’मा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, पशुपति राई, निकिता चाण्डक, गौमाया गुरुङलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय सिनेमा महोत्सवहरूमा आफ्नो प्रभाव जमाइसकेको छ । यसले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।
‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई विश्वका नौ उदयमान निर्देशकको सूचीमा समावेश गरेको थियो भने ब्राजिलियन लेखक पाउलो कोहेलोले पनि उनको प्रशंसा गरेका थिए ।
आदि फिल्मस्, बासुरी फिल्मस्, दयाहाङ राई र तन्हाउसर गेटको सहकार्यमा निर्माण भएको यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रूपमा रिलिज गर्नेछन् ।
ट्रेलर: