चलचित्र विकास बोर्डमा महिला चलचित्र महोत्सव सुरु



काठमाडौँ – ‘चलचित्रमा नारी’ नारासहितको ‘महिला चलचित्र महोत्सव’ आजबाट काठमाडौंमा सुरु भएको छ । सरस्वतीनगर, चाबहिलस्थित चलचित्र विकास बोर्डमा सुरु भएको यो महोत्सव तीन दिनसम्म चल्नेछ ।

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर चलचित्र विकास बोर्ड अन्तर्गतको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले आयोजना गरेको महोत्सवको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले गरेकी थिइन् ।

कार्यक्रममा उपमेयर डङ्गोलले यस्तो महोत्सव आयोजना भएकोमा खुसी व्यक्त गर्दै यसले चलचित्रमा महिलाहरूको सहभागिता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले चलचित्रमा महिलाहरूको भूमिका र पारिश्रमिकमा समानता हुनुपर्नेमा जोड दिइन् । ‘महिला चलचित्र महोत्सव’ले चलचित्रमा नारीलाई अझ अगाडि ल्याउन मद्दत मिल्ने उनले बताइन् ।

काठमाडौं महानगरपालिकाले ‘क्रियटिभ सिटी’का लागि फिल्म विधा छनोट गरेको जानकारी दिँदै उनले फिल्मले गीत, साहित्य, रहनसहन र सम्पदा देखाउन सक्ने बताइन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले निर्माण गर्न लागेको स्टुडियोमा काठमाडौं महानगरपालिकाको सहकार्य चाहेको बताए । उनले तीन दिने महोत्सवमा विभिन्न कार्यक्रमहरू रहेको जानकारी गराउँदै यसले महिला चलचित्रकर्मीलाई अगाडि बढ्न मद्दत मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ कलाकार वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, अभिनेता विश्व बस्नेत, चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, लगायतका चलचित्रकर्मीको सहभागिता थियो ।

महोत्सवको पहिलो दिन आज ‘सिन्दूर’ चलचित्र प्रदर्शन गरिएको थियो । कार्यक्रम स्थलमा ललितकला कलेजका विद्यार्थीले ‘सिन्दूर’ चलचित्रका महिला कलाकारको स्केच बनाएका थिए । कलाकार भुसाल र बस्नेतले चलचित्र ‘सिन्दूर’को अभिनयबारे अनुभव सुनाएका थिए ।

महोत्सवको दोस्रो दिन महिलाद्वारा निर्मित चलचित्र र महिलामाथि बनेका चलचित्र प्रदर्शन गरिनेछन् । साथै, चलचित्रमा ‘नारी संवाद’ कार्यक्रम पनि राखिएको छ ।

महोत्सवको अन्तिम दिन महिलाका विषयका नाटक प्रदर्शन गरिनुका साथै महिला चलचित्रकर्मीलाई सम्मान तथा पुरस्कार वितरण गरिनेछ । अभिनेत्री केकी अधिकारी महिला चलचित्रकर्मी सशक्तीकरण समितिको अध्यक्ष रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu