अस्ट्रेलियामा चलचित्र अवार्ड हुने



काठमाडौं – अस्ट्रेलियामा नेपाली चलचित्रको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै, डि व्वाईज इन्टरटेनमेन्टले मे २८ देखि जुन १ सम्म ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गर्ने भएको छ । यो अवार्ड समारोह नेपाली चलचित्रको कला र संस्कृतिलाई विश्वसामु चिनाउने उद्देश्यले आयोजना गर्न लागिएको आयोजकले बताएको छ 

अस्ट्रेलियामा नेपाली चलचित्रको बजार निकै फस्टाइरहेको छ र यसले नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा ठुलो योगदान पुर्‍याएको छ । आयोजकका प्रमुख गणेश मल्लले बताएअनुसार, यो अवार्ड समारोह केवल एउटा पुरस्कार वितरण कार्यक्रम मात्र नभई नेपाली चलचित्र र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने एउटा महत्त्वपूर्ण मञ्च हुनेछ ।

ग्लोबल नेपाली फिल्म अवार्डमा विभिन्न १८ वटा विधामा पुरस्कार प्रदान गरिनेछ, जसमा उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, सङ्गीत, छायाङ्कन, सम्पादन, र अन्य प्राविधिक पक्षहरू समावेश हुनेछन् । यसबाहेक, लोकप्रिय नायक-नायिका, चलचित्र पत्रकारिता पुरस्कार र लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिनेछ ।

पुरस्कारको छनोट वरिष्ठ चलचित्रकर्मीहरूको जुरीले गर्नेछ, जसले निष्पक्ष र पारदर्शी रूपमा उत्कृष्ट चलचित्र र कलाकारहरूलाई छनोट गर्नेछन् । आयोजकले यो अवार्ड समारोहलाई विकृतिरहित र प्रतिष्ठित बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सन् २०८० मा प्रदर्शन भएका चलचित्रहरूको दर्ता सुरु भइसकेको छ । आयोजकले अस्ट्रेलियन चलचित्रकर्मी, वितरक र नागरिकहरूको पनि सहभागिता रहने बताएका छन् । अवार्ड समारोहपछि नेपाली चलचित्रको बजार, दर्शकको अवस्था र प्रवर्द्धनबारे अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिनेछ ।

यो अवार्ड समारोह चलचित्रसँग सम्बन्धित सङ्घसंस्था, सरकारी निकाय र प्रायोजकहरूसँग सहकार्य गरेर आयोजना गरिनेछ । आयोजकले छिट्टै पत्रकार सम्मेलन गरी अवार्डका विधा, सहभागी कलाकार, जुरी र अन्य विस्तृत जानकारी सार्वजनिक गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu