
काठमाडौं – निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’को कलाकार लाइनअप निकै रोचक देखिएको छ । हालै मात्र अभिनेत्री द्वय केकी अधिकारी र मिरुना मगर मुख्य भूमिकाका लागि अनुबन्ध भएका छन्, जसमा यसअघि नै अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई भित्रिइसकेका थिए ।
विजय बरालसँग केकी र मिरुनाको जोडी कस्तो देखिने हो, अहिले चलचित्र प्रेमीमाझ कौतूहलको विषय बनेको छ । ‘जनै हराएको बाहुन’ को थिम सार्वजनिक भएसँगै दर्शकमाझ राम्रो प्रभाव छोडेको छ । चलचित्रले आमा र छोराको भावनात्मक सम्बन्धलाई प्रस्तुत गर्नेछ, जहाँ छोराले आमाको सुखका लागि गर्ने सङ्घर्षको कथालाई देखाइनेछ ।
निर्देशक हिमाल न्यौपानेको यो पहिलो चलचित्र हो, जसमा कलाकार समेत रहेका मनिष राउतले असोसिएट निर्देशकको भूमिका निर्वाह गर्नेछन् । भानुभक्त ढकालले लेखेको पटकथा र संवादले गाउँबाट सहर आएका एक सामान्य व्यक्तिको जीवनमा आउने परिवर्तनलाई देखाउनेछ ।
आदित्य फिल्मस्ले निर्माण गर्न लागेको यस चलचित्रमा नवीन गुरुङले छायाङ्कन, सम्राट महर्जन (ज्याक) ले क्रिएटिभ निर्देशन र मयंक निरौलाले भिएफएक्स सुपरभाइजरको जिम्मेवारी सम्हाल्नेछन् ।
यस वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु हुने ‘जनै हराएको बाहुन’ अर्को वर्षको हरितालिका तीज, अर्थात् भदौ १० गते नेपाल र अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने तयारी छ ।