‘आउट ल: दफा २१९’ले महिलालाई सम्मान दिने अभिनेताको दाबी



काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा ‘आउट ल’ जस्तो शीर्षकको चलचित्र यसअघि निर्माण भएको थिएन, जसले गर्दा ‘आउट ल: दफा २१९’ अहिले चर्चाको केन्द्रमा रहेको छ। फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको हालै आयोजित पत्रकार सम्मेलनमा यसका अभिनेता सुशील श्रेष्ठले चलचित्रको शीर्षक र कथावस्तुबारे चर्चा गरे ।

उनले भने, “जब कानुनले न्याय दिन सक्दैन, जब शक्ति र सत्ताको दुरुपयोग हुन थाल्छ, तब एउटा पात्र जन्मिन्छ, जो आफैँले न्याय दिन बाध्य हुन्छ । हाम्रो चलचित्र केवल मनोरञ्जनका लागि मात्र होइन, समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले बनाइएको हो । दर्शकले हेरेपछि यसको प्रभाव महसुस गर्नेछन् ।”

चलचित्रमा सुशीलले पृथ्वीजंग थापा नामक पात्रको भूमिका निर्वाह गरेका छन् । उनका अनुसार यो पात्र कुनै पनि कोणबाट पूर्णतया सकारात्मक वा नकारात्मक होइन, बरु परिस्थितिले उसलाई कानुनभन्दा बाहिर जान बाध्य बनाउँछ । “कोही मान्छे यत्तिकै नराम्रो हुँदैन, उसलाई परिस्थिति र समयले नकारात्मक बनाउँछ,” उनले स्पष्ट पारे ।

चलचित्रमा सुशीलले भिन्न शैलीको एक्सन गरेका छन्, जसको तयारी र छायाङ्कन चुनौतीपूर्ण रहेको उनले बताए । “एक्सन सिनहरू सहज थिएनन् । छायाङ्कनको क्रममा धेरै पटक थकानले कट भन्ने बित्तिकै निदाइहाल्थेँ । एउटा सिनको क्रममा मेरो हातमा गहिरो चोट लाग्यो, जुन अझै निको भइसकेको छैन,”उनले अनुभव सुनाए ।

उनका अनुसार चलचित्रका केही दृश्यहरू वास्तविक स्टन्टले भरिएका छन् । उनले आफूले हातमा आगो बालेर दिएको दृश्यबारे भने, “पहिले निखिल उप्रेती दाइ र राजेन्द्र खड्गी सरहरूले यस्तो स्टन्ट गरेको देखेको थिएँ । पर्दामा सहज देखिए पनि वास्तविक रूपमा कठिन हुन्छ । तर, रमाइलो अनुभव रह्यो । दर्शकले मन पराउने विश्वास छ ।”

एक्सन चलचित्रमा प्रायः महिलालाई कमजोर रूपमा चित्रण गरिने आरोप लाग्ने गरेको छ । यसबारे पत्रकारको जिज्ञासामा सुशीलले ‘आउट ल: दफा २१९’ को दृष्टिकोण फरक रहेको बताए । “चलचित्रले महिलालाई सम्मान गर्ने सन्देश दिन्छ । महिलाहरूलाई कमजोर देखाउने प्रयास गरिएको छैन, बरु उनीहरूको शक्ति र सम्मानलाई उजागर गरिएको छ,” उनले प्रस्ट पारे ।

ट्रेलर सार्वजनिक भएसँगै चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । सुशील पनि यस प्रतिक्रियाबाट उत्साहित छन् । “पहिले मेरो चलचित्र रिलिज हुँदा ‘फ्लप सुशील अब हिट होलान् त?’ भन्ने शीर्षक आइरहन्थ्यो । तर, अहिले त्यसमा परिवर्तन आएको छ । यसले मलाई थप आत्मविश्वास दिएको छ,” उनले मुस्कानसहित भने ।

विक्की महर्जन निर्देशित ‘आउट ल: दफा २१९’ लाई अमित अग्रहरीले निर्माण गरेका हुन् । चलचित्रको मेकिङलाई लिएर अहिले व्यापक चर्चा भइरहेको छ । सुशीललाई यस चलचित्रले बलियो कमब्याक गराउनेमा कुनै शङ्का छैन । “म दर्शकलाई एउटा फरक एक्सपिरियन्स दिन चाहन्छु। यो चलचित्रबाट म निकै आशावादी छु,” सुशीलले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu