
काठमाडौं – नेपाली चलचित्र ‘लाज शरणम्’ले विदेश प्रदर्शनको सुरुवाती दिनदेखि नै ऐतिहासिक सफलता प्राप्त गरेको यसका विदेश वितरकले जनाएका छन् । फेब्रुअरी २६ मा नेपालमा रिलिज भएको यो चलचित्र मध्यपूर्वका चार देशमा एक दिनपछि प्रदर्शनमा आएको थियो ।
विदेश वितरक सेभेन सिज इन्टरनेशनलका प्याट्रिक सुवेदीका अनुसार, मध्यपूर्वका ४० सिनेमा घरमा रिलिज भएको ‘लाज शरणम्’ले अमेरिका, क्यानडा र अस्ट्रेलियामा पनि ऐतिहासिक प्रदर्शन गरेको छ । उनका अनुसार फेब्रुअरी २८ मा रिलिज भएको यो चलचित्रले उत्तर अमेरिकाका ७७ हलमा एकै दिन प्रदर्शन गरी नयाँ रेकर्ड बनाएको छ । अस्ट्रेलियामा ३० स्थानमा रिलिज भएको ‘लाज शरणम्’ विश्वभर एकै दिन सबैभन्दा धेरै हलमा रिलिज हुने चलचित्र बनेको छ ।
मार्च ७ बाट युकेका सिनेवर्ल्ड, भीयूई, शोकेस, सिनेमाजमा पनि प्रदर्शन हुने तयारीमा रहेको यो चलचित्रले नेपालमा पनि सन्तोषजनक व्यापार गरेको छ । यो चलचित्र बुधवारबाट दोस्रो हप्तामा प्रवेश गरेको छ ।
कुमार कट्टेल निर्देशित ‘लाज शरणम्’मा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिस निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकारको मुख्य भूमिका रहेको छ । यस चलचित्रमा जीवन्त अभिनय गरेका महेश त्रिपाठीको व्यापक चर्चा भइरहेको छ भने लुक्स परिवर्तनमा गरेको मेहनतको लागि सिताराम कट्टेलको पनि प्रशंसा भइरहेको छ ।
जेपीटी क्रिएसनको ब्यानरमा निर्मित यो चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह निर्माता रहेका छन् ।