
काठमाडौं – आगामी चैत ८ गते रिलिज हुने नेपाली चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनीवन) को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक समारोहकाबीच सार्वजनिक ट्रेलर ३ मिनेट २८ सेकेन्ड लामो छ ।
केशव पाण्डेको निर्देशनमा बनेको क्राइम थ्रिलर जनरामा आधारित यो चलचित्रको ट्रेलरले आधुनिक सहरको अँध्यारो पाटोलाई उजागर गरेको छ । ट्रेलरमा स्वार्थ, धोका, बदला र रहस्यको जालो देख्न सकिन्छ । ट्रेलरमा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र नवअभिनेता सागर खनालको दमदार अभिनय देख्न सकिन्छ ।
निर्देशक पाण्डेले आफ्नो पहिलो चलचित्रमा नै फरक विषयवस्तु रोजेको बताए । उनले भने, “मलाई सधैँ फरक काम गर्न मन लाग्छ, त्यसैले मैले क्राइम थ्रिलर रोजेँ । कलाकारहरूको छनोट मेरो सोचअनुसार नै भएको छ र उहाँहरूले उत्कृष्ट काम गर्नुभएको छ ।” पोस्ट प्रोडक्सनमा केही समय लागेकोले रिलिजमा ढिलाइ भएको उनले बताए ।
चलचित्रमा अल्मोडा राना उप्रेतीको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन तथा मिक्सिङ, प्रद्युम्न मिश्रको डीओपी, रामशरण उप्रेतीको छायाङ्कन, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्लेको प्रोडक्सन डिजाइन रहेको छ ।
विचित्र फिल्मस् र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी रहेको छ । एमएस अग्रज कार्यकारी निर्माता हुन् ।
ट्रेलर: