चलचित्र विकास बोर्डमा तीन दिने महिला चलचित्र महोत्सव सम्पन्न



काठमाडौं – चलचित्र विकास बोर्डको महिला चलचित्रकर्मी सशक्तीकरण समितिद्वारा आयोजित तीन दिने महिला चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न भएको छ । नेपाली चलचित्रमा महिलाको योगदानलाई उजागर गर्दै सशक्तीकरणको सन्देश दिने उद्देश्यले आयोजित यो महोत्सवले विभिन्न पुस्ताका चलचित्रकर्मीलाई एकै मञ्चमा ल्याएको थियो ।

महोत्सवको समापन समारोहमा वरिष्ठ सामाजिक अभियन्ता अनुराधा कोइरालाको उपस्थिति रहेको थियो । तीन दिनसम्म चलेको महोत्सवमा नेपाली सिनेमाको ऐतिहासिक धरोहर ‘सिन्दूर’ को प्रदर्शन, महिलाद्वारा निर्मित लघु चलचित्रहरूको प्रस्तुति, र महिला कलाकारहरूको सम्मान लगायतका विविध कार्यक्रम सम्पन्न भएका थिए ।

महोत्सवको पहिलो दिन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा सुरु भएको थियो । सो अवसरमा ४६ वर्षअघिको ऐतिहासिक चलचित्र ‘सिन्दूर’ प्रदर्शन गरिएको थियो । चलचित्रका कलाकारहरूको ललितकलाद्वारा तयार पारिएको मुहार चित्र उनीहरूलाई समर्पण गरिएको थियो ।

दोस्रो दिन नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा महिलाद्वारा निर्देशित लघु चलचित्रहरू प्रदर्शन गरिएको थियो । सोही अवसरमा अभिनेत्री रेखा थापा र स्वस्तिमा खड्कासँग चलचित्रमा नारी विषयमा विशेष संवाद गरिएको थियो ।

महोत्सवको अन्तिम दिन महिला प्रधान नाटक ‘दृश्य परिदृश्य’ मञ्चन गरिनुका साथै नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका सात जना महिला स्रष्टाहरूलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरूमा अभिनेत्री करिश्मा मानन्धर, रश्मि भट्ट, पशुपति राई, थिन्ले ल्हामो, शृङ्गारकर्मी शोभा श्रेष्ठ, चलचित्र पत्रकार गीता अधिकारी र कलाकार तथा निर्देशक सरिता साह रहेका थिए ।

समापन समारोहमा नेपाली चलचित्र उद्योगका वरिष्ठ कलाकारहरू वसुन्धरा भुसाल, भुवन चन्द, चैत्यदेवी, शम्भुजीत बासकोटा, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, राजभाई सुवाल, मोहन निरौला, निर्मल शर्मा, जनकदीप पराजुली, रवीन्द्र खड्का, सुचित्रा श्रेष्ठ, रक्षासिंह राणा, प्रदीप खड्का, केकी अधिकारी, यम बराल, सविन श्रेष्ठ, अनु शाह, विद्या कार्की लगायतको उपस्थिति थियो ।

महोत्सवको समापन गर्दै महिला सशक्तीकरण समितिले नेपाली चलचित्र क्षेत्रमा महिलाको योगदानलाई थप सशक्त बनाउन आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu