
सुर्खेत – कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुक्रवारदेखि सुर्खेतमा भव्य रूपमा सुरु भएको छ । रेड चेरी इन्टरटेनमेन्टको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सव फागुन २५ र २६ गते कर्णालीमा सम्पन्न हुँदैछ ।
महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गरे । कार्यक्रममा पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, पूर्व राज्यमन्त्री कुन्ती साही, पूर्व मन्त्री रामकुमारी झाँक्री, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता प्रदीप खड्का, तथा चलचित्र लेखक विकास सुवेदी विशेष अतिथि थिए ।
महोत्सवका निर्देशक चक्र बहादुर चन्दका अनुसार कर्णालीलाई चलचित्र पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो । यस अवसरमा निर्देशक विकास सुवेदीको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘२६ करोड’ को कर्णालीमै छायाङ्कन गर्न औपचारिक सम्झौता समेत गरियो, जसमा कर्णाली प्रदेश सरकारले आर्थिक तथा भौतिक सहयोग गर्ने उल्लेख छ । यो चलचित्रलाई सुवास भुसालको निर्माणमा विकास सुवेदीले निर्देशन गर्दैछन् ।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवानी राणा, मुक्तिनाथ विकास बैङ्कका सिइओ प्रद्युम्न पोखरेल, कलाकार, चलचित्रकर्मी तथा स्थानीय बौद्धिक व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति थियो ।
महोत्सवको दोस्रो दिन शनिवार गुराँस गाउँपालिकामा ‘गुराँस चलचित्र संवाद’ आयोजना गरिनेछ । यस संवादमा कर्णाली प्रदेशमा चलचित्रको भविष्य, स्थानीय कथावस्तुको सम्भावना, र क्षेत्रीय चलचित्र विकासबारे छलफल गरिनेछ ।
महोत्सवले कर्णालीलाई नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्रका लागि प्रमुख छायाङ्कन स्थलका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।