ब्रिटेनमा चम्किँदै नेपाली अभिनेता टङ्क धमाला, ‘कामा’बाट चर्चामा



लन्डन – बेलायतमा बसोबास गर्दै आएका नेपाली अभिनेता टङ्क धमाला पछिल्लो समय ब्रिटिस चलचित्र उद्योगमा आफ्नो उपस्थिति दरिलो बनाउँदै छन् । उनले अभिनय गरेको नयाँ चलचित्र ‘कामा’ बेलायत र आयरल्यान्डका हलहरूमा मार्च ७ देखि प्रदर्शन भइरहेको छ । यस चलचित्रमा उनले हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साथै दक्षिण भारतीय अभिनेत्री पूजा गुप्तासँग पर्दा साझा गरेका छन् ।

‘कामा’ विश्वासघात र बदलाको कथामा आधारित थ्रिलर चलचित्र हो, जसमा धमालाले युद्धबाट फर्किएको सैनिकको भूमिका निर्वाह गरेका छन् । घर फर्किँदा आफ्नी श्रीमतीको मृत्युको खबर सुनेपछि उनले सामना गर्ने भावनात्मक सङ्घर्ष तथा घटनाक्रमलाई चलचित्रले रोमाञ्चक तरिकाले प्रस्तुत गरेको छ । यो चलचित्र नेपाली निर्देशक भीमसेन लामाले निर्देशन गरेका छन्, जसले यसअघि ‘कठपुतली’ नामक सफल नेपाली चलचित्र निर्देशन गरेका थिए ।

धमालाका अनुसार, यो भूमिकाका लागि उनले शारीरिक रूपमा आफूलाई पूर्ण रूपमा तयार पारेका थिए । “सेनाको चरित्रलाई वास्तविक देखाउन मैले शारीरिक प्रशिक्षण मात्र होइन, सैनिकको मानसिकता बुझ्न विशेष अध्ययन पनि गरेँ,” उनले भने । यस क्रममा उनले ब्रिटिस एक्टिङ प्रशिक्षक साइमन गिब्बनबाट विशेष प्रशिक्षण लिएका थिए ।

धमालाको अभिनयलाई समीक्षकहरूले निकै प्रशंसा गरेका छन् । ‘मिलान इन्टरनेशनल चलचित्र फेस्टिभल’मा ‘कामा’ प्रदर्शित हुँदा उनले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । त्यसै गरी ‘म्याड्रिड इन्टरनेशनलचलचित्र फेस्टिभल २०२४’ मा पनि उनको अभिनयलाई विशेष मान्यता दिइएको थियो ।

धमालाले यसअघि बलिउडको ब्लकबस्टर चलचित्र ‘एनिमल’ मा पनि अभिनय गरिसकेका छन् । नेपाली दर्शकमाझ भने उनी ‘सरौतो’ बाट परिचित छन् । उनी चार्टर्ड एकाउन्टेन्ट भएर पनि अभिनयमा प्रवेश गरेका हुन् । २०१८ देखि मोडलिङमा सक्रिय उनले ब्रिटिस एयरवेज, स्विस एयर, कोकाकोला लगायतका अन्तर्राष्ट्रिय ब्रान्डका विज्ञापनमा पनि काम गरिसकेका छन् ।

धमालाले हालसालै नेपाली चलचित्रका केही प्रस्तावहरू अस्वीकार गर्नुपरेको खुलासा गरे । ‘कामा’ को तयारीका साथै अन्य अन्तर्राष्ट्रिय प्रोजेक्टमा व्यस्त हुँदा उनले समय दिन सकेनन् । तर अब भने नेपाली चलचित्रमा उपयुक्त भूमिका पाए अभिनय गर्न इच्छुक रहेको बताए ।

“सङ्ख्यात्मक रूपमा भन्दा पनि गुणस्तरीय चलचित्रमा काम गर्ने मेरो चाहना छ । यदि राम्रा प्रस्तावहरू आए, म निश्चय नै नेपाली चलचित्रमा देखिनेछु,” उनले भने ।

हाल धमाला ब्रिटिस मोडल तथा अभिनेता एजेन्सी ‘लङफोर्ड एसोसियट्स’ सँग आबद्ध छन् र केही नयाँ प्रोजेक्टहरूमा संलग्न हुँदैछन् । अन्तर्राष्ट्रिय स्तरमा नेपाली कलाकारको पहिचान बनाउने उनको यात्रा अझै रोचक बन्ने सङ्केत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu