
काठमाडौं – निर्देशक यादवकुमार भट्टराईको नयाँ चलचित्र ‘झिल्को’ को टिजर सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गरिएको टिजरले अहिलेको समाजमा मोबाइलको लतले निम्त्याउने समस्यालाई उजागर गरेको छ ।
टिजरमा विशेष गरी बालबालिकामा देखिएको मोबाइलको लत र त्यसले उनीहरूको जीवनमा पारेको नकारात्मक प्रभावलाई प्रस्तुत गरिएको छ । टिजरले अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई देखाएको छ ।
यसमा मोबाइलका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबिचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमा गुम्सिँदै गएका पात्रहरूको कथा देखाइएको छ।
सामाजिक विषयवस्तुमा आधारित चलचित्रहरू निर्देशन गर्दै आएका निर्देशक भट्टराईले ‘झिल्को’ मा प्रविधिको सामाजिक विस्तारिकरण र यसले पार्ने प्रभावको कथा प्रस्तुत गरेका छन् । चलचित्रमा आयुषि ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ र जेभिस श्रेष्ठको अभिनय रहेको छ ।
दीपक बज्राचार्यको छायाङ्कन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, श्याम कुँवरको कलर र साउन्ड मिक्सिङ तथा उत्तम न्यौपानेको रहेको छ । ‘झिल्को’ को कथा र पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका हुन् ।
फिल्ममा आनन्द अधिकारीको गीत, चण्डीप्रसाद काफ्ले र दिपक शर्माको सङ्गीत तथा शिव परियार, निशा देशार र सहिमा श्रेष्ठको स्वर रहेको छ । मिडिया फर कल्चर प्रा.लि. को प्रस्तुति र जनता टिभिले निर्माण सहकार्य गरेको चलचित्र ‘झिल्को’ आगामी वैशाख १९ गते रिलिज हुँदैछ ।
टिजर: