सेन्सरमा रोकियो ‘राजागंज’, प्रधानमन्त्रीको पत्र ल्याउन वा ब्लर र बीप लगाउन निर्देशन



काठमाडौं – चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राजागंज’ सेन्सर बोर्डको कैँचीमा परेको छ । मङ्गलवार सेन्सर बोर्डले चलचित्रमा प्रयोग भएका केही शब्द र दृश्यमा आपत्ति जनाउँदै सच्याएर आउन निर्माण पक्षलाई निर्देशन दिएको छ ।

विशेष गरी चलचित्रमा प्रयोग भएको ‘कुहिएको आँप’ भन्ने शब्दमा सेन्सर बोर्डले आपत्ति जनाएको छ । सेन्सर बोर्डका एक सदस्यका अनुसार यो शब्दले चलचित्रको मर्ममा नै असर पार्ने भएकाले यसलाई ब्लर र बीप लगाउन निर्देशन दिइएको हो । सेन्सर बोर्डले यो शब्द राख्न चाहेमा प्रधानमन्त्री कार्यालयबाट अनुमति पत्र ल्याउनुपर्ने सर्त राखेको बताइएको छ । तर, निर्माण पक्षले भने यो शब्द हटाउँदा चलचित्रको कथावस्तुमा नै असर पर्ने भन्दै हटाउन अस्वीकार गरेको छ र प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै अनुमति पत्र ल्याउने कोसिस गरेको छ । उक्त शब्दावली प्रधानमन्त्रीले कुनै फरक प्रसङ्गमा बोलेको र काल्पनिक कथामा वास्तविक कुरालाई मिसाउन खोजिएको देखिएकोले सर्वोच्च अदालतले दिएको नजिरको आधारमा नै उक्त निर्देशन दिइएको सेन्सर बोर्डका सदस्य भूपेन्द्र कुमार खड्काले बताए । 

यसका साथै, चलचित्रमा प्रयोग भएका केही अन्तर्वार्ताहरूमा पनि सेन्सर बोर्डले आपत्ति जनाएको छ । सेन्सर बोर्डका अनुसार केही अन्तर्वार्ताहरू सन्दर्भ बिना राखिएको र यसले भविष्यमा समस्या निम्त्याउन सक्ने भएकाले हटाउन निर्देशन दिइएको हो ।

चलचित्र ‘राजागंज’ २०७२ सालमा संविधान जारी भएपछि भएको मधेस आन्दोलनको कथामा आधारित छ । दीपक रौनियारको निर्देशनमा बनेको यो चलचित्रमा दयाहाङ राई, ऋचा शर्मा, विजय बराल, पशुपति राई, निकिता चाण्डक लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu