
काठमाडौं – अभिनेता बिराज भट्टले नयाँ चलचित्र ‘राम नाम सत्य’मा काम गर्ने भएका छन् । यसअघि ‘१२ गाउँ २’ निर्माणको चर्चा चलेको भए पनि, उनले तत्कालका लागि उक्त चलचित्रलाई पछि सार्दै निर्देशक माइकल चन्दको निर्देशनमा बन्ने नयाँ प्रोजेक्टमा काम गर्ने निर्णय गरेका हुन् ।
बिराज र निर्देशक माइकल चन्दबीच सोमबार कागजी सम्झौता भएको थियो । ‘१२ गाउँ’ रिलिजपछि फेरि चर्चामा आएका बिराजलाई चलचित्र अफरको लाइन लागेको छ, तर उनले आफ्नै होम प्रोडक्सनको कामलाई समेत रोक्दै ‘राम नाम सत्य’ रोज्नु विशेष मानिएको छ । कथावस्तु र पटकथा मन परेपछि उनले यो चलचित्रमा संलग्न हुने निर्णय गरेका हुन् ।
सङ्गीत भिडियो निर्देशनमा सक्रिय माइकल चन्दले नै चलचित्रको कथा तयार पारेका छन् । चलचित्रको छायाङ्कन आउँदो वर्ष सुरु गर्ने योजना रहेको छ । अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत रहने पक्का भइसकेको चलचित्रमा उत्तम गुरुङ, उपेन्द्र शाही, र स्वेता बिमलीको लगानी रहेको छ । कार्यकारी निर्माताको रूपमा नरेन्द्र शाह र सन्तोष अर्याल छन् ।
चलचित्र एक्सन, लभ स्टोरी, र कमेडीको मिश्रण हुने बताइएको छ । निर्देशक चन्दका अनुसार दर्शकलाई केही फरक स्वाद दिने उद्देश्यसहित प्रि-प्रोडक्सनमा विस्तृत तयारी भइरहेको छ । बिराज भट्टले पनि चलचित्रको कथाले आफूलाई आकर्षित गरेको बताउँदै काम गर्न उत्साहित रहेको बताएका छन् ।