
काठमाडौं – आगामी चैत २२ गते रिलिज हुने नेपाली चलचित्र ‘वसन्त’को गीत ‘बिना स्वादैको’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ। चलचित्र रिलिज हुनुभन्दा १० दिनअघि सार्वजनिक भएको यो गीत युट्युब ट्रेन्डिङको सङ्गीत खण्डमा पहिलो स्थानमा उक्लिएको हो ।
समाचार तयार पार्दासम्म गीतलाई १२ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् भने ४२ हजारभन्दा बढीले मन पराएका छन् । दर्शकहरूले गीतमा बागलुङ र वरपरका जिल्लाको मौलिकता देखाइएको भन्दै प्रशंसा गरेका छन् ।
देवेन्द्र बब्लुको स्वर रहेको यो गीतको सङ्गीत प्रकाश सपुत र देवेन्द्र बब्लुले संयुक्त रूपमा तयार पारेका हुन् । यसको भिडियोमा अन्तरजातीय प्रेम र त्यसपछिका सामाजिक घटनाहरूलाई चित्रण गरिएको छ।
भिडियोमा चलचित्रका मुख्य कलाकारहरू प्रभात पाल ठकुरी, श्री शिभान्सी, देवेन्द्र बब्लु, सुनिल विक र विशाल पहारी देखिएका छन् । प्रकाश सपुतको निर्देशन रहेको यो चलचित्रमा स्वस्तिमा खड्का, उर्मिला लाम्गादे, खड्क बहादुर पुन, अनुप बराल, कमलमणि नेपाल र प्रकाश घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
‘वसन्त’ चलचित्रले विपन्न विश्वकर्मा समुदायको लेखक बन्ने सपना र सङ्घर्षको कथा बोकेको छ । चलचित्रको छायाङ्कन बागलुङ, काठमाडौं र तराईका विभिन्न स्थानमा गरिएको हो ।