
काठमाडौं – फागु पूर्णिमाको अवसर पार्दै नेपालभरका हलहरूमा दुई नयाँ चलचित्रहरू ‘अञ्जिला’ र ‘आउटल: दफा २१९’ प्रदर्शनमा आएका छन् । दुवै चलचित्रहरूले देशभर उत्साहपूर्ण शोहरू प्राप्त गरेका छन् ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ । सोमवार काठमाडौंमा भएको प्रिमियर यस चलचित्रले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो ।
यस चलचित्रमा एन्जिलाको साथमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका छन् । निर्देशक चाम्सले नेपाली स्रोत र साधनको अधिकतम उपयोग गर्दै खेलकुदमा आधारित चलचित्र निर्माण गर्नु चुनौतीपूर्ण भए पनि ‘अञ्जिला’ले फरक प्रभाव पार्ने विश्वास व्यक्त गरे । निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई चलचित्रले प्रेरित गर्नेमा आशा व्यक्त गर्दै, एन्जिलाको सङ्घर्षको कथा चलचित्रको पटकथाभन्दा कम नभएको बताएका छन् ।
त्यस्तै, अभिनेता सुशील श्रेष्ठको एक्सन चलचित्र ‘आउटलः दफा २१९’ले महिला सम्बन्धी एउटा महत्त्वपूर्ण मुद्दालाई उठान गरेको छ । विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सुशील श्रेष्ठ, शिक्षा सङ्ग्रौला, नरेश पौडेल लगायतका कलाकारको अभिनय छ ।
चलचित्रको ट्रेलरले दर्शकको ध्यान खिचेको छ । सुशीलको एक्सन अवतारले उनलाई एक्सन स्टारको रूपमा स्थापित गर्ने विश्वास गरिएको छ ।
यि दुई चलचित्रका बाबजुद अघिल्लो शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘होस्टेल ३’ले पनि नयाँ चलचित्रहरूको बराबरी शोहरू प्राप्त गरेको छ । ‘होस्टेल ३’लाई व्यापक रुचाइएको छ भने बुधवार दिनभरका अधिकांश शोहरू हाउसफुल थिए ।
साथै, भोली चैत १ गते अर्को नयाँ नेपाली चलचित्र ‘राजागंज’ पनि रिलिज हुँदैछ, जसको बुकिङ खुला भइसकेको छ ।