काठमाडौंमा चलचित्र ‘११:५५’को प्रिमियर: कसले कस्तो प्रतिक्रिया दिए ?



काठमाडौं – शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को बुधवार रेड कार्पेट प्रिमियर शो सम्पन्न भएको छ । कमलपोखरीस्थित बिग मुभिज सिटी सेन्टरमा आयोजित विशेष शोमा चलचित्रकर्मी, पत्रकार र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।

पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी, निर्देशकहरू सवीर श्रेष्ठ, सुवर्ण थापा, सुवास कोइराला, अभिनेता आर्यन अधिकारी, गजित बिस्ट, निर्देशक तथा हास्य कलाकार दीपक आचार्य (काकु), बबिन राई (गल्फने बाजे) र ‘होस्टेल ३’ टिमले चलचित्र हेरेका थिए। हलबाट बाहिर निस्कँदै उनीहरूले चलचित्रले क्राइम थ्रिलर जनरामा नयाँ मानक स्थापित गरेको प्रतिक्रिया दिए ।

अभिनेत्री मलिना जोशीले ‘११:५५’ नेपाली चलचित्रको इतिहासमा क्राइम थ्रिलर जनराको उत्कृष्ट उदाहरण भएको बताइन् । उनले विशेष गरी अभिनेत्री सृष्टि श्रेष्ठको अभिनय र पात्रको प्रशंसा गरिन् । डेब्यु निर्देशक केशव खड्काले सस्पेन्स र क्राइम थ्रिलर मन पराउने दर्शकका लागि उत्कृष्ट चलचित्र पस्केको उनको भनाइ थियो ।

निर्देशक सुवर्ण थापाले एक घरभित्रको कथालाई कुशलतापूर्वक प्रस्तुत गरेको भन्दै निर्देशक खड्काको प्रशंसा गरे । उनले यस्ता चलचित्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । निर्देशक दीपक आचार्यले अभिनेता महेश त्रिपाठीको अभिनयको विशेष प्रशंसा गर्दै चलचित्रको समग्र प्रस्तुति उत्कृष्ट रहेको बताए ।

चलचित्रका मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ र डेब्यु अभिनेता सागर खनालले प्रिमियर शोमा पाएको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको बताए । उनीहरू दर्शकले पनि चलचित्र मन पराउनेमा आशावादी देखिएका छन् ।

डेब्यु निर्देशक केशव खड्काले आफ्नो लामो समयदेखिको सपना साकार भएको बताए । उनले कलाकारहरूको उत्कृष्ट अभिनय र टिमको मिहिनेतले चलचित्र सफल भएकोमा खुसी व्यक्त गरे ।

क्राइम थ्रिलर जनरामा बनेको ‘११:५५’ को लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । चलचित्रमा एमएस अग्रज र शेखर ज्ञवालीको पनि लेखन रहेको छ ।

अल्मोडा राना उप्रेतीको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन तथा मिक्सिङ, प्रद्युम्न मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्लेले चलचित्रमा प्रोडक्सन डिजाइनको काम गरेका छन् ।

विचित्र फिल्म्स र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी रहेको छ । चलचित्रमा सागर खनाल, महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको अभिनय रहेको छ । चलचित्रको कार्यकारी निर्माता एमएस अग्रज हुन् भने कुबेर सिने डिस्ट्रिब्युसनले वितरणको जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu